Birendranagar Municipality

फिल्डमा खटिने स्थानिय तहका पदाधिकारी नै जोखिममा, मास्कको भरमा राहत वितरण गर्दै

गणेश ओली/सेरोफेरो
फिल्डमा खटिने स्थानिय तहका पदाधिकारी नै जोखिममा, मास्कको भरमा राहत वितरण गर्दै

३० चैत्र । कोरोना भाईरस (कोभिड १९) को संक्रमण नेपालमा फैलिएसंगै सरकारले २०७६ चैत्र ११ गते देखि २०७७ बैषाख ३ सम्म नेपालभर लकडाउन गरेको छ । लकडाउनका कारण दैनिक ज्यालामजदुरी गर्ने, गरिव तथा विपन्न नागरिकहरुलाई राहत स्वरुप खाद्यन्न वितरणको कार्य समेत विभिन्न स्थानिय तहले गरिहेका छन् । सयौको संख्यामा रहेका नागरिकहरुलाई राहत वितरण गर्ने कर्मचारी र पदाधिकारीहरु कोरोनाको उच्च जोखिममा रहेको बताईरहेका छन् ।

 

मास्कको भरमा दैनिक नागरिकको भिडमा रहने वडा तहका कर्मचारीहरु उच्च जोखिममा रहेको वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष नन्दलाल शर्माले बताउनु भयो । 'हामी लकडाउनको समयमा सुरक्षाका सामाग्री विना राहत वितरणमा तल्लीन छौ, यसले गर्दा कर्मचारी र पदाधिकारीहरु कोरोनाको जोखिममा छौ' वडा अध्यक्ष शर्माले भन्नुभयो ।

 

नयाँ प्रकृतिको रोग भएको, स्थानिय तहका सवै पदाधिकारी र कर्मचारीमा जानकारीको अभाव भएको करणले आफुहरु उच्च जोखिममा रहेको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले बताउनु भयो । अभियानका लागी चाहिने न्युनतम् सामाग्री मास्क, पन्जा, सेनिटाइजर उपलब्ध नभएको र भएपनि मुल्य चर्को भएका कारण अभियानकर्ताहरु जोखिममा भएतापनि जोखिम मोलेर काम गरिरहनु परेको अध्यक्ष के.सीको भनाई छ । सरकारले गरेको अनुरोधलाई मानेर स्वतस्फुर्त रुपमा लकडाउनको पालना गरेको खण्डमा यसको जोखिमबाट बच्न सकिने अध्यक्ष के.सीले बताउनु भयो ।

 

स्थानिय तह आफै सरकार भएकोले कोरोना भाईरसको संक्रमण फैलिन नदिन रातदिन खट्नु परेको र अन्य सुरक्षा सामाग्री प्रयोग गर्नको लागी समेत प्रयाप्त नभएको चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताउनु भयो । अध्यक्ष शाहीले भन्नुभयो 'मास्कको भरमा जनताको भिडमा जानु पर्छ, स्वास्थ्यकर्मी सम्मलाई हामीले पिपिई उपलब्ध गराएका छौ, कर्मचारी र जनप्रतिनिधी जोखिम मोलेर अभियानमा लाग्नु परेको छ'। कोरोनाको संक्रमणबाट बच्नको लागी सवै नागरिकहरु अत्यावसेक काम बाहेक अन्य अवस्थामा घरमा बस्न अध्यक्ष शाहीले अनुरोध गर्नुभयो ।

 

एउटा मास्कलाई पाँच पटक धोयर राहत वितरण गर्न बाध्य भएको वीरेन्द्रनगर २ का वडा अध्यक्ष बल बहादुर रोकायले बताउनु भयो । फिल्डमा राहत लिनेको लाईन हुन्छ, दुरी कायम गर्न अनुरोध गरेका छौ, प्रयाप्त मास्क, सेनिटाईजर र ग्लब्स नहुँदा जोखिम मोलेर पदाधिकारी र कर्मचारीले यो अभियानमा खट्नु परेको अध्यक्ष रोकायको भनाई छ । जनप्रतिनिधी र कर्मचारी संगै टोलहरुमा तथ्याङ्क संकलन गर्ने ३५ टोल विकास समितिका पदाधिकारीहरु लाई सामान्य मास्क समेत दिन नसक्दा उनिहरु उच्च जोखिम संगै अभियानमा संलग्न हुनुपरेको अध्यक्ष रोकायले बताउनु भयो ।

 

समुदाय स्तरमा खट्ने कर्मचारीहरु जोखिममा भएकोले गाउँपालिकाले थप रणनितीका साथ अगाडी बढेको गुराँस गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले हरेक वडामा सुपथमुल्य पसल स्थापना गर्न लागेको र यसबाट भिड कम हुने र जोखिम समेत कम हुने गुराँस गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर बुढाले बताउनु भयो । हरेक स्वास्थ्य चौकीमा अत्यावसेक औषधी, मास्क, पन्जा, सेनिटाईजर र केही मात्रामा पि.पि.ईको व्यवस्थापन गरिएको प्रमुख प्रशासकिय अधिकृत बुढाले बताउनु भयो । 

 

यस्तो छ डाक्टरको सुझाव :
हालसम्म पत्ता लागेअनुसार कोराना भाईरस ड्रपलेट ईन्फेक्सनबाट हुने र स्वास फेर्दा, खोक्दा र हाँच्छिउ गर्ने बेलामा ५ देखि १० माईक्रोन साईजको थुकको माध्ययमबाट कोरोना भाईरस सर्ने कर्णाली प्रदेश अस्पतालका डाक्टर नवराज के.सीले जानकारी दिनुभयो । कोरोनाको संक्रमण बाट बच्न र स्थानिय तहले राहत वितरणमा अपनाउनु पर्ने तारिका बारे यस्ता छन् डाक्टर के.सीका सुझावहरु :

  • आम नागरिकले सर्जिकल मास्क र एन ९५ मास्क लगाउन आवश्यक नभएको ।
  • कोरोनाको सामान्य लक्षण नभएका, गाउँमा वा भिड कम भएको क्षेत्रमा बस्ने र सामान्य कुराकानी गर्दा कपडाको मास्क लगाउन सकिने ।
  • स्वास्थ्यकर्मी जो दैनिक विरामीको सेवामा अस्पतालमा खटिन्छन् उनिहरुले सर्जिकल मास्क लगाउनु पर्ने ।
  • विना तालिम खटिरहेका राहत वितरण गर्ने स्थानिय तहका पदाधिकारी र कर्मचारीहरुलाई सानो तालिमको आवश्यकता भएको हुँदा, डाक्टर वा स्वास्थ्यकर्मीले दिइएको सुझाव पालन गरी फिल्डमा जानुपर्ने ।
  • राहत वितरण गर्दा हरेक स्थानिय तहले एकपटकमा निश्चित घरधुरीलाई राहत वितरण गर्ने समय र स्थानको बारेमा पूर्वसुचना प्रदान गर्नुपर्ने ।
  • प्रत्येक नागरिकहरुलाई कपडाको मास्क प्रयोग गरेर राहत लिन आउन अनुरोध गर्ने ।
  • राहत लिन आउने हरेक व्यक्तिलाई कम्तीमा ३ फिटको दुरीमा बस्ने र सावुनपानिको प्रवन्ध गर्ने ।
  • राहत वितरण गर्ने कर्मचारी र पदाधिकारीहरुले उल्लेखीत प्रकृयाको व्यवस्थापन गर्ने ।
  • पि.पि.ई र एन ९५ जस्ता सामाग्रीहरु सामान्य अवस्थामा प्रयोग नगर्ने । यस्ता सामाग्रीहरुलाई संक्रमण फैलिएको अवस्थाको लागी र नमुना संकलन कार्य बाहेक अन्य अवस्थामा प्रयोग नगर्ने ।
२०७६ चैत्र ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्