३० चैत । अमेरिकाको न्यूयोर्क सिटीको हार्ट आइल्याण्डको पहिचान ‘सामूहिक चिहान’ का रुपमा रहँदै आएको छ विगत डेढ सय वर्षदेखि । सन् १८०० को मध्यदेखि हार्ट आइल्याण्डको पोटर्स फिल्डमा विभिन्न महामारीका बेला निधन भएकाहरुको सामूहिक चिहान बनाइयो।
यसरी हार्ट आइल्याण्डमा पुरिनेमा अधिकांश आफन्तको पहिचान नभएका वा आफन्तले लिन शव लिन अस्वीकार गरेकाहरु हुने गरेका थिए।
स्पेनिस फ्लू र एड्स संकटका बेला मृत्यु भएकाहरु त्यहीँ पुरिए। यस्तै सो क्षेत्र एल्लो फिवर र टिबीका बिरामीका लागि क्वारेन्टाइन सेन्टर पनि बन्यो। अहिले फेरि हार्ट आइल्याण्ड सामूहिक चिहान बनेको छ।
कोरोना भाइरसको महामारीमा कोभिड–१९ बाट मृत्यु भएकाहरुलाई त्यहाँ पुरिन थालिएको छ। विगत १५० वर्षदेखि न्यूयोर्क सिटीले पहिचान नभएका शवहरु पुर्न सो क्षेत्र प्रयोग गर्दै आएको छ।
अहिले कोरोना भाइरसबाट मृत्यु भएकाहरुको सामूहिक चिहान बनाउन थालिएको सिटीका मेइर बिल डी ब्लासिओका प्रवक्ताले बताएका छन्।
हार्ट आइल्याण्डमा अहिलेको कोरोना भाइरस महामारीका बेला मृत्यु भएका व्यक्ति पुरिएका छन्। यसरी त्यहाँ पुरिनेमा अति गरिब तथा आफन्तको पहिचान नभएकाहरु अधिक रहेको जनाइएको छ।
हार्ट आइल्याण्डमा सामान्य अवस्थामा हप्तामा २५ जना जतिको शव पुर्ने गरिएको थियो। अहिले भने दैनिक २५ भन्दा बढी शव त्यहाँ पुर्ने गरिएको छ।
अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म २० हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ। इपिसेन्टर न्यूयोर्क राज्यमा ज्यान गुमाउनेको संख्या ८ हजार ६ सयभन्दा बढी छ। त्यसमा पनि न्यूयोर्क सिटी सबैभन्दा बढी प्रभावित भएको छ। न्यूयोर्क सिटीमा मात्रै ६ हजार ३६७ जनाको मृत्यु भइसकेको छ।
(देशसञ्चारबाट)
प्रतिकृया दिनुहोस्