२ बैशाख । कर्णाली प्रदेश संकट व्यवस्थापन केन्द्रले सिमित जनशक्तिबाट नियन्त्रित मेसिन औजारको प्रयोग गरी सञ्चालन हुने विकास निर्माणका कार्यहरुलाई सञ्चालन हुन दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा मंगलबार बसेको बैठकले भारत लगायत तेस्रो मुलुकबाट यस प्रदेशमा भित्रिएका मानिसहरुको पहिचान गरी निगरानी गर्ने, ल्याब परीक्षण गर्ने र नयाँ आउने व्यक्तिहरुलाई तोकिएको अवधिभर अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।
यसका साथै बैठकले छिमेकी प्रदेश र जिल्लाबाट मानिस भित्रिने नाकामा थप सुरक्षा प्रवन्ध मिलाउन सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय गरेको छ । यस्तै बैठकले अर्को प्रदेशबाट भित्रिने दुग्ध पदार्थ, तरकारी, फलफूल तथा मासु भित्र्याउन अर्को व्यवस्था नहुँदासम्म पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ ।
केन्द्रले लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गर्ने व्यक्ति र अन्य जिल्लाबाट अध्ययनका लागि आएका विद्यार्थीहरु पहिचान गरी राहत वितरणलाई व्यवस्थित गर्ने निर्णय गरेको छ । यस्तै बैठकले खेताला प्रयोग नगरी मौसमी बाली स्याहार्न दिने पनि निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस्