१२ वैशाख । सहकर्मी समाज सुर्खेतले कर्णाली प्रदेश, प्रदेश नम्वर ५ र सुदुरपश्चिम प्रदेशमा सहयोग प्रदान गरेको छ । कोरोनाको संक्रमण फैलिन नदिन र यसको रोकथाम र व्यवस्थापनको लागी विभिन्न प्रदेश सरकारले स्थापना गरेको कोषमा संस्थाले राहत स्वरुप सहयोग प्रदान गरेको हो ।
संस्थाको आन्तरिक कोषबाट हरेक प्रदेशलाई एक लाख एक हजार गरी जम्मा तीन लाख तीन हजार सहयोग प्रदान गरिएको संस्थाका अध्यक्ष रत्न गाहामगरले जानकारी दिनुभयो ।
कर्णाली प्रदेशको विपद कोषमा शुक्रवार संस्थाका अध्यक्ष गाहाले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको उपस्थितीमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई सहयोग वापत एक लाख एक हजारको चेक हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष गाहाले संस्थाले बाँके जिल्लाका करिव १०० विपन्न परिवारलाई खाद्यन्न सहयोग गरेको जानकारी दिनुभयो ।
प्रदेश नम्वर ५ मा संस्थाका कार्यकारी निर्देशक अमर बहादुर ऐरले सहयोग वापतको चेक हस्तान्तरण गर्नुभएको छ भने सुदुरपश्चिम प्रदेशमा कोषको खातामा जम्मा गरिएको अध्यक्ष गाहाले जानकारी दिनुभयो ।
उक्त सहयोग रकम बुझ्दै कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले सामाजिक संस्थाले गरेको कार्य प्रशंसनिय रहेको बताउनु भयो । आगामी दिनमा समेत संस्थाहरुको सहयोगको अपेक्षा गर्नुभयो ।
प्रतिकृया दिनुहोस्