Birendranagar Municipality

वीरेन्द्रनगर नगरपालिका द्वारा कृषिमा अनुदान दिने निर्णय

सेरोफेरो
वीरेन्द्रनगर नगरपालिका द्वारा कृषिमा अनुदान दिने निर्णय

२२ वैशाख । वीरेन्द्रनगर नगरपालिकाले कृषि जन्य वस्तुहरुमा किषानलाई अनुदान दिने घोषणा गरेको छ । वीरेन्द्रनगर नगरकार्यपालिकाको मिति २०७७ बैशाख १९ कार्यबाहक नगर प्रमुख श्री मोहनमाया ढकालको अध्यक्षतामा बसेको बैठक उक्त निर्णय गरेको हो । कोरोना संक्रमण रोक्नको लागी गरिएको बन्दाबन्दीको कारण कृषि क्षेत्रमा परेको प्रभावलाई मध्यनजर गरी विभिन्न कृषिजन्य बस्तुहरुमा अनुदान दिने निर्णय गरेको हो ।

 

नगरपालिकाले यस आर्थिक वर्षका विभिन्न तालिम गोष्ठी आन्तरिक भ्रमण लगायत चालु खर्च तर्फ विनियोजन गरिएका नगर तथा वडा तहका योजना कटौती गरी किसानहरुलाई विउ विजनमा अनुदान दिने निर्णय गरेको कार्यबाहक प्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो ।

 

 

साथै बैठकले हालसम्म नगरपालिकाले गरेको कार्यहरुको समिक्षा समेत गरेको छ । खोलानालामा गिट्टी कुट्ने र बालुवा चाल्ने मजदुरहरुलाई भौतिक दूरी कायम गरि कार्य निरन्तरता दिन लगाई निजहरूलाई ज्याला पाउने ब्यवस्था गरी राहत उपलब्ध नगराउने समेत निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत टीकाराम ढकालले जानकारी दिनुभयो ।

 

भौतिक दूरी कायम गरी कृषि कार्य र विकास निर्माणका कार्य गर्न सम्भव नभई खाद्य संकट हुने मजदुर ब्यक्तिहरुको लागि हाल संचालनमा आएको कल सेन्टरबाट राहत वितरण प्रणाली लाई २०७७ बैशाख २३ सम्म निरन्तरता दिने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत ढकालले बताउनु भयो । साथै नगरपालिकाबाट संचालित पूर्व सावधानी गृहमा ३९ जना राखिएको समेत नगरपालिकाले जनाएको छ ।

यस्ता छन् नगरपालिका कार्यपालिकाका निर्णयहरु :

  • धान, मकै, बोडी, फर्सी,लौका, सिमी, चिचिण्डा, घिरौंला लगायतका सिजनल तरकारी बालीको बीउबिजनहरुमा ८० प्रतिशत अनुदान दिने निर्णय ।
  • मल तथा बिषादिमा ५० प्रतिशत अनुदान ।
  • नगरपालिकाका विभिन्न क्षेत्रहरुमा ब्यावशायिक फलफूल खेती गर्न चाहने ब्यक्तिरफर्महरुले कम्तीमा ३०० बिरुवा रोप्ने गरी आफ्नै जग्गाको ब्यवस्थापन सहित प्रस्ताव पेश गर्न १५ दिने सूचना आव्हान गर्ने र प्रस्ताव प्राप्त भए पश्चात उपयुक्तताको आधारमा छनौट गर्ने र कम्तीमा ५० प्रतिशत अनुदानमा यस्तो ब्यवसाय सञ्चालन हुने ब्यवस्था मिलाउने ।
  • नगरपालिका क्षेत्रका सम्पूर्ण जग्गा जमिनमा खेती गर्ने र बाँझो नराख्ने गरी सबै जग्गा धनीहरुलाई आग्रह गर्ने । कुनै जग्गा धनी आफैले बालीनाली लगाउन नसक्ने परिस्थितिमा सम्बन्धित वडा कार्यालयले समन्वय गरी जग्गा बाँझो नरहने गरी अन्य कुनै कृषकलाई जग्गा प्रयोग गर्न समन्वय गर्ने ।
२०७७ वैशाख २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्