२३ बैशाख, जाजरकोट । भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीलाई आक्रमण गर्ने राष्ट्रिय युवा संघ जाजरकोटका संयोजक दिपेन्द्र शाही निलम्बनमा परेका छन् ।
युवा संघका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा 'दीपशिखा' र सहसंयोजक रमेश पौडेलले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी शाहीलाई संगठनबाट निलम्बन गरेको हो ।
नेकपा कर्णाली प्रदेश सदस्यसमेत रहेका घर्तीमाथि आक्रमण भएकोबारे नेकपा जाजरकोट र नेकपा कर्णाली प्रदेश कमिटीले यसअघि नै विज्ञप्ति निकालेका थिए। ती विज्ञप्ति र संघको वैशाख १६ को केन्द्रीय कमिटी सदस्यको सिफारिसलाई आधार मानेर शाहीलाई निलम्बन गरेको विज्ञप्तिमा उल्लेख छ।
कर्णाली प्रदेश जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य मधु चन्दको निधनपछि श्रद्धाञ्जली प्रकट गर्न घाटमा गएका घर्तीलाई शाही नेतृत्वको समूहले वैशाख १३ गते फेरा घाटमा आक्रमण गरेको थियो । गाउँमा योजना दिँदा भेरी नगरपालिकाका मेयर घर्तीले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै शाहीले घाटमै मुक्का प्रहार गरेका थिए ।
संघले घटनाको सत्यतथ्य छानविन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन केन्द्रिय सदस्यहरु मनोज विक, विश्वविक्रम शाह, राजन थापा, भिम रोकाय र भिम जिसी रहेको ५ सदस्यिय छानविन समिति बनाएको छ ।
शाहीकाे निलम्बनसंगै सहसंयोजक भिम जिसीलाई कार्यबहाक संयोजकको जिम्मेवारी दिइएकाे छ ।
प्रतिकृया दिनुहोस्