२४ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतको भूमिका अविस्मरणीय रहेको बताएका छन् । पाँचौँ राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्र प्रकाशनको १२० वर्ष प्रवेशको सन्दर्भमा शुभकामना दिँदै उनले यस्ताे बताएका हुन् ।
प्रम ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायु भएको र पत्रकारको पेशागत हकहित र स्वतन्त्रताको रक्षाका लागि सरकार साथमा रहेको स्पष्ट पारे । साथै लकडाउनको कठिन परिस्थितिमा सञ्चारकर्मीको कामप्रति उनले सम्मान प्रकट गरेका छन् ।
‘प्रेस स्वतन्त्रताप्रति हाम्रो प्रतिबद्धता र अविचलित निष्ठा रहेको छ । प्रेस स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रियताको संरक्षण, सामाजिक न्याय र समानताको प्रत्याभूति गर्दै शान्ति र स्थायित्वको प्रवर्द्धन तथा मानव अधिकारसम्बन्धी सरोकारलाई प्राथमिकतामा राखेर विकास र निर्माणमा सरकार अग्रसर रहेको छ', सन्देशमा भनिएको छ, 'परम्परागत र नयाँ विद्युतीय आमसञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म आधारहीन सामग्री सम्प्रेषण हुन नदिन सबैभन्दा पहिले पत्रकार एवं सञ्चारकर्मी नै सजग हुनुपर्छ ।'
उनले नीतिगत स्पष्टतासाथ सुशासन र दिगो विकासको बाटोमा सरकारका काम अगाडि बढिरहेको जनाउँदै सरकारका हरेक कदम राष्ट्रको समृद्धि र जनताको सुखतर्फ अभिमुख भएको र नागरिकमा सत्य, तथ्य, निष्पक्ष र सन्तुलित सूचना प्रवाह गर्ने संवैधानिक अभिप्रायबाट प्रेसले सम्मानित र शक्तिशाली स्थान प्राप्त गरेको बताए ।
संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको सन्दर्भमा यसको दुरुपयोग गर्ने प्रवृत्ति समाजमा बढिरहेको भन्दै ओलीले सामाजिक उत्तरदायित्व वहन गर्दै संविधानप्रदत्त हक–अधिकार उपयोग गर्न राष्ट्रिय पत्रकारिता दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
यसैगरी शुभकामना दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचना प्रवाहमा स्थापित अन्तर्राष्ट्रिय मूल्य, मान्यता र प्रचलन तथा नेपालको संविधानले प्रत्याभूत गरेको सूचना र सञ्चारसम्बन्धी मौलिक हकको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सरकारको निर्णयसँगै पाँच वर्षअघिदेखि आजकै दिन राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै आएको छ ।
प्रतिकृया दिनुहोस्