Birendranagar Municipality

लकडाउनले स-सानो कुराको महत्व बुझायो

विनिता बोगटि
लकडाउनले स-सानो कुराको महत्व बुझायो

कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त छ । यसबाट बच्न सरकारले चैत ११ देखि हालसम्म निरन्तर लकडाउन गरेको छ । लकडाउनले हामीलाई धेरै कुराको अनुभव दिलाएको छ । लकडाउनमा घरमै बसीरहँदा हामीहरुले सानो सानो कुराको महत्वहरु बुझ्ने समय पाएका छौं । 

 

लकडाउनअघि घरबाट बाहिर निस्कनु पनि झ्यास्सै लाग्थ्यो । अहिले आएर थाहा हुँदै छ कि घरबाट बाहिर निस्कन पाउनु पनि कति ठूलो कुरा रहेछ । हरेक दिन साथीहरुसंग चिया, कफि, खाजा खाने साथै भेटघाट गर्न पाउनु पनि कति ठूलो कुरा रहेछ ।


बिनाकुनै डर आफूलाई मन लागेको ठाउँमा जानु र सामाजिक अन्तरघुलन हुन पाउनु मानव जीवनका महत्वपूर्ण पक्ष हुन् । भेटघाटको समयमा नमस्कारसंगै, अगांलो हाल्ने, चुम्मा गर्ने, हात मिलाउने जस्तो हाम्रो दैनिकी बनेको थियो । लकडाउनले हाम्रो दैनिकी बदल्नेछ भन्ने लाग्छ । कामकाजको शैली पनि बदलिन्छ भन्ने लाग्छ ।


घरबाहिर रेस्टुरेन्टमा विभिन्न प्रकारका परिकार खाएता पनि घरको दाल भात तरकारी को महत्व ह्वात्तै बढेको महसुस भएको छ । हरेक दिन साथीभाईहरुसगं रमाएता पनि आमा बाबु र परिवारको जस्तो न्यानो काख नहुने रहेछ । जतिनै विलासी जीवन बिताए पनि आफ्नो घर जति सुरक्षित त कहाँ रहेछ र ?


कोरोना महामारीले कसलाई कुन समय र कति बेला च्याप्ने हो अत्तोपत्तो छैन । जो कोही पनि स्वस्थ मानिस पनि यसको आक्रमणमा पर्न सक्छ । यसले न जात हेर्छ न धर्म न वर्ग न देश । हामीले पनि कोरोनालाई जित्ने हो भने जात, धर्म, वर्ग, र देशभन्दा माथि उठेर मानवताको हिसाबले सोच्नुपर्नेछ ।


तर, अहंकारले भरिएका मानिस यस्तो बेला पनि आफ्नै स्वार्थसिद्ध गर्न लागेका छन् । उही खिचातानी छ, उही लुछाचुँडी । कोरोना फैलनुमा गरीब कारक थिएनन् तर सबभन्दा धेरै सास्ती त्यही वर्गलाई छ । मध्यम र उच्च वर्गकाले जसरी नि जीवन चलाइरहेका छन् । तर गरीबलाई लकडाउनमा झनै समस्या छ ।


सकिन्छ भने आफूलाई चाहिने तरकारी घरमै रोपौं, घरमा आमा बुवालाई समय दिऔं । विपन्न वर्गकालाई सक्दो सहयोग गरौं । केही नभए उनीहरुलाई आदर गर्दै धन्यवाद दिने गरौं । लकडाउनबाट सिक्दै सादा र सरल जीवनलाई महत्व दिऔं । स–सानो कुरामा पनि खुशी हुन सिकौं । आफ्नो जीवनप्रति सधैं कृतज्ञ बनौं ।


यस्तै ससाना लाग्ने तर महत्वपूर्ण कुराले जीवन रंगीन बनाऔं । लकडाउनले हामीलाई सानो पाठ पढाएको छ । कोरोना सन्त्रासबाट तंग्रिएपछि मानवीय चेतनामा नयाँ चिन्तनको शुरुवात होस् साथै नयाँ सभ्यताको बीजारोपण होस् ।

 

(बाेगटी मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विए एलएलबि अध्ययनरत छन् ।)

२०७७ बैशाख २५ बिहिबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्