Birendranagar Municipality

कर्णालीमा लकडाउन खुकुलो, नाकामा क्वारेन्टाइन बनाइने

सेरोफेरो
कर्णालीमा लकडाउन खुकुलो, नाकामा क्वारेन्टाइन बनाइने

३० बैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले गत साता सिल गरेका सबै नाका खुकुलो बनाउने निर्णय गरेको छ । कर्णाली प्रदेश कोरोना नियन्त्रण, रोकथाम उच्च स्तरीय समितिको सोमबार राति बसेको बैठकले लकडाउन केही खुकुलो हुने गरी उक्त निर्णय गरेको हो ।

 

निर्णयले बिरामी, कुरुवा, किरियापुत्री, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई प्रदेश आउन सहज हुनेछ भने किसानले कृषि र पशुपालनका लागि आवश्यक सामग्रीहरु ओसारपसार गर्न र स्थानीय तहको समन्वयमा भौतिक दुरी कायम गरी खेतीपाती गर्न पाउनेछन् ।

 

यस्तै महत्वपूर्ण र रोजगारमूलक विकास निर्माण उपकरण ढुवानी र ओसारपसार गर्न, विकास परियोजनाको काम गर्ने जनशक्ति आवतजावत गर्न, दैनिक उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ र औद्योगिक उत्पादनका लागि आवश्यक सामग्री आयात गर्न दिइनेछ ।

 


आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीका अनुसार बैठकले भारत र नेपालकै विभिन्न ठाउँबाट आएर प्रदेशको नाकामा अलपत्र परेका व्यक्तिहरुलाई राख्न नाकामै क्वारेन्टाइन निर्माण गर्ने निर्णय समेत गरेको छ ।

 

कर्णालीमा हालसम्म कोरोना संक्रमित व्यक्ति छैनन् ।

 

निर्णयहरु :

कर्णाली प्रदेश प्रवेश सीमा नाकाहरुबाट सवारी आवत जावतमा कडाई यथावत राख्ने ।

 

भारत र नेपालका बिभिन्न स्थानबाट प्रदेशको सीमामा आएर अलपत्र परेका नागरिकहरुलाई राख्नका लागि नाकामा क्वारेन्टाइन निर्माण गर्ने ।


तत्काल बाहिरबाट आएर प्रदेशको सीमामा अलपत्र परेका नागरिकलाई सुरक्षित रुपमा सम्बन्धित जिल्ला र पालिकामा पठाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्न लगाउने ।


भारत लगायत स्थानबाट घर आउने सम्भावनालाई ध्यानमा राखेर पालिकहरुले क्वारेन्टाइन निर्माण गर्ने ।


बिरामी, कुरुवा, किरियापुत्री, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई प्रदेशमा आउन सहज गर्ने ।


कृषि र पशुपालनको लागि कृषि सामाग्रीहरु बिउ, बिजन, बेर्ना, माछाका भुरा, मल, दाना र अत्यावश्यक कृषि उपकरण ओसारपसार गर्न पाउने ।


सुरक्षा सतर्कता र भौतिक दुरी कायम गरी स्थानीय तहको समन्वयमा कृषकहरुलाई बाली स्याहार्न र खेतीपाती गर्न सहजीकरण गर्ने ।


महत्वपूर्ण र रोजगारमूलक विकास निर्माणका लागि आवश्यक सामग्री पाइप, छड, सिमेन्ट र निर्माण उपकरणहरु ढुवानी र ओसारपसार गर्न पाउने ।


सुरक्षा सतर्कता अपनाउँदै परियोजनाहरुमा काम गर्ने जनशक्ति आवत जावतको व्यवस्था गर्ने ।


चामल, दाल, नुन, तेल, चिनी जस्ता अत्यावश्यक खाद्य सामग्री आयात गर्ने ।


ग्याँस, डिजेल र पेट्रोलजस्ता पेट्रोलियम पदार्थ आयात गर्ने ।


औद्योगिक उत्पादनका लागि आवश्यक सामग्री ल्याउने व्यवस्था गर्ने ।


नेपाल सरकार मन्त्रिपरिषदले गरेका निर्णयहरु कार्यान्वयन गर्ने ।

२०७७ बैशाख ३० मैगलबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्