Birendranagar Municipality

सीमा विवाद साम्य पार्न भारत र चीनसहित उच्चस्तरीय त्रिपक्षीय वार्ता आवश्यक

सेरोफेरो
सीमा विवाद साम्य पार्न भारत र चीनसहित उच्चस्तरीय त्रिपक्षीय वार्ता आवश्यक

३१ बैशाख, काठमाडौं । लिम्पियाधुरा सीमा विवाद समाधानका लागि भारत र चीनसंग तत्काल उच्चस्तरीय वार्ता गर्न विपक्षी दलहरुले सरकारलाई सुझाव दिएका छन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई, राजपाका नेता महन्थ ठाकुरलगायतले यस्तो सुझाव दिएका हुन् ।

 

बैठकमा काँग्रेस सभापति देउवाले काली पूर्वको सबै भूभाग नेपालको भएको भन्दै यो समस्या समाधानका लागि सरकारले पहिले भारतसँग एक्लै र लगत्तै भारत र चीनसँग त्रिपक्षीय वार्ता अघि बढाउन सुझाव दिएका थिए ।

 

देउवाले बैठकमा पूर्ववर्ती सरकारले गरेको निर्णयअनुसार अमेरिकन मिलिनियम च्यालेञ्ज कार्पोरेशन (एमसीसी) ओली सरकारले तत्काल अनुमोदन गर्नुपर्ने धारणा समेत राखेका थिए ।

 

प्रधानमन्त्री ओलीले सत्तारुढ दल नेकपा र विपक्षी दलका नेताहरु, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री लगायतलाई बैठकमा बोलाएका थिए ।

 

पूर्वपरराष्ट्रमन्त्री एवं राप्रपा संयुक्तका नेता डा. प्रकाशचन्द्र लोहनीले सीमा समस्याका सम्बन्धमा सरकारले जनतालाई गुमराहमा राखेको र त्यसो नगर्न सरकारलाई सुझाव दिएको बताए ।

 

यस्तै पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. भट्टराईले पनि सीमा समस्या समाधान गर्न त्रिपक्षीय वार्ता आवश्यक भएको बताए । उनले सीमा समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठनको प्रस्ताव समेत गरेका छन् ।

 

चीन र भारतले सन् २०१५ मा नेपाललाई बाइपास गरेर नेपाली भूमि लिपुलेक हुँदै अन्तराष्ट्रिय व्यापार मार्ग बनाउने सहमति गरेका थिए ।

 

यसका साथै भारतले नेपालसंगको सीमा निर्धारण गर्ने सुगौली सन्धीको प्रावधान विपरित सन् २०१९ मा काली वारीको लिम्पियाधुरा क्षेत्र समेटेर नयाँ नक्शा सार्वजनिक गरेको थियो । नेपालले दुबै कदमको कुटनीतिक रुपमा विरोध गरेको थियो ।

 

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिम्पियाधुरा कालापानी, लिपुलेकका मामिलामा नेपाल सरकारले आधिकारिक रुपमा ‘डिप्लोमेटिक नोट’ बुझाइसकेको र त्यसको प्रतिक्रिया कुरेर बसेको बताएका छन् ।

 

कोरोना महामारीका कारण जारी लकडाउनका बेला भारतका रक्षामन्त्री राजनाथ सिंहले मे ८ मा धार्चुला लिपुलेक ७९ किमी सडकको दिल्लीबाट भर्चुअल उद्घाटन गरेपछि सीमा विवाद चुलिएको हो । यस सम्बन्धमा चीनको कुनै आधिकारिक धारणा सार्वजनिक भएको छैन ।

 

सीमा मिचेकाे आरोपमा लकडाउनका बाबजुद नेपालका विभिन्न ठाउँमा बिराेधस्वरूप भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे पुत्ला जलाइएकाे छ ।

२०७७ बैशाख ३१ बुधबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्