Birendranagar Municipality

धुलिखेलमा कोरोनाबाट सुत्केरीको मृत्यु, मृत्युबारे थप अनुसन्धान जारी

सेरोफेरो
धुलिखेलमा कोरोनाबाट सुत्केरीको मृत्यु, मृत्युबारे थप अनुसन्धान जारी

३ जेठ, काठमाडौं । धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरी महिलामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ। श्वासप्रश्वासमा समस्या उत्पन्न भएर अस्पताल भर्ना भएकी उनीमा कोरोना संक्रमण पुष्टि भएको धुलिखेल अस्पतालका एक चिकित्सकले जानकारी दिए ।

 

त्रिवि शिक्षण अस्पतालमा बैशाख २४ गते सिजरिङबाट डेलिभरी भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको बिहीबार बेलुकी धुलिखेल अस्पतालमा निधन भएको थियो ।


धुलिखेल अस्पतालमा उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टमा समेत संक्रमण पुष्टि भएको हो । यद्धपी रिपाेर्ट सार्वजनिक गरिएकाे छैन । बाह्रबिसे राम्चेस्थित घरमा उनलाई कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि आरडिटी परीक्षण गर्दा रिपाेर्ट नेगेटिभ देखिएको थियो ।

 

ती महिलाकाे मृत्युलगत्तै उनको उपचारमा संलग्न धुलिखेल अस्पतालका सबै स्वास्थ्यकर्मीहरुलाई हाल आइसोलेसनमा राखिएको छ। यस्तै टिचिङ अस्पतालमा उनको शल्यक्रिया र उपचारमा संलग्न सबैको स्वाब परीक्षण गरिएको छ । ती महिलाको थप कन्ट्याक्ट ट्रेसिङ समेत भइरहेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त महिलाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो वा होइन भन्नेबारे सरकारले अध्ययन गरिरहेको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमणकै कारण ती महिलाको मृत्यु भएको हो वा होइन भन्नेबारे पछि सार्वजनिक गरिने बताए ।

 

महिलाको मृत्यु भएपछि त्यसको कारण पत्ता लगाउन स्वास्थ्य मन्त्रालयले टोली खटाएको छ । कोभिड—१९ नियन्त्रणका लागि बनाइएको इन्सिडेन्ट कमाण्ड सिष्टमअन्तर्गतको आइसिएस अपरेशनल अफिसर डा. गुणराज लोहनीको नेतृत्वमा चिकित्सकहरूको टोली आजै धुलिखेल अस्पताल गएको हो।

 

मन्त्रालयका अनुसार टाेलीले अनुसन्धान थालिसकेकाे छ ।

२०७७ जेठ ३ शनिबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्