१२ जेठ, काठमाडौं । नेपाली काँग्रेसले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ । आइतबार बसेको काँग्रेस केन्द्रीय पदाधिकारी बैठकले संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको हो ।
लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि सरकारले संविधानको अनुसूची–३ मा रहेको निशान छाप संशोधन गर्न बिहीबार संसदमा विधेयक दर्ता गराएको थियो।
भारतले अतिक्रमण गरेको भूमि नक्सामा आएसँगै अब त्यहाँ नेपालको उपस्थिति हुनुपर्ने कुरामा कांग्रेसले जोड दिएको छ । बैठकले राजनीतिक र कूटनीटिक माध्यमबाट कालापानी, लिपुलेक र लिम्पियाधुरामा रहेको भारतको उपस्थिति हटाउन पहल गर्न पनि सरकारलाई आग्रह गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।
यस्तै जनता समाजवादी पार्टीले संविधान संशोधनका लागि पहल गरिदिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई गरेको आग्रह सम्बन्धमा बैठकमा कुनै छलफल नभएको महतले बताए । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावसँगै आफूहरुले उठाउँदै आएको माग पनि प्याकेजमा सम्बोधन गर्न जसपाले कांग्रेसको ध्यानाकर्षण गराएको थियो ।
जसपाका नेताहरुले कांग्रेस सभपाति शेरबहादुर देउवालाई शनिबार उनको निवासमै भेटेर संविधान संशोधनका लागि पहल गरिदिन आग्रह गरेका थिए । उनले आइतबार बस्ने पार्टी पदाधिकारी बैठकमा छलफल गर्ने आश्वासन दिएका थिए । तर आइतबार बसेको पदाधिकारी बैठकले नक्सा संशोधन गर्ने विषयमा अरु विषय मिसाउन नहुने ठहर गरेको छ।
यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले मधेशवादी दलका मागबारे संविधान संशोधनको प्रस्ताव दर्ता गरेको थियो । यद्धपी तत्कालीन एमालेको असहयोगका कारण उक्त प्रस्ताव अस्वीकृत भयो ।
बैठकले कोरोना रोगको रोकथाम तथा उपचारका लागि विशेष ध्यान दिन र संक्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्याउन सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ । कारोनाका कारण अर्थतन्त्रमा परेको असरबारे गम्भीर बन्न र त्यसलाई पुनस्थापित गर्ने कार्यक्रम बजेटमा ल्याउन पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ।
प्रतिकृया दिनुहोस्