मृतक प्रेमी नवराज विक
१४ जेठ, रुकुम पश्चिम । चौरजहारी प्रकरणमा २० जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी परेको छ । पीडितमध्येका एक परिवारले मंगलबार प्रहरीमा किटानी जाहेरी दिएको हो ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकस्थित सोतीमा शनिबार प्रेमिका लिन पुगेको समूहमाथि गाउँलेले गरेको आक्रमणबाट ३ जनाको मृत्यु भएको थियो भने ३ जना बेपत्ता छन् ।
उजुरीपछि प्रहरीले वडाअध्यक्ष र युवतीका बुबाआमासहित १२ जनालाई पक्राउ गरेको छ भने ८ जना फरार छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता निरज शाहीका अनुसार पक्राउ परेकालाई अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ ।
जातीय विभेदका कारण भएको उक्त घटनालाई लिएर संघीय संसदमा चर्काचर्की भएको छ । रुकुमबाट निर्वाचित सांसद जनार्दन शर्माले मंगलबार प्रतिनिधिसभामा घटनाबारे जानकारी गराउँदा केही सांसदहरुले विरोधस्वरुप हल्लाखल्ला गरेका थिए । शर्माले घटनाको छानविनमा आफूले सहयोग गर्ने बताएका छन् ।
भेरी नगरपालिका जाजरकोटका नवराज विक ठकुरी परिवारकी प्रेमिका लिन गाउँका १९ जना लिएर शनिबार साँझ सोती पुगेका थिए । युवतीका परिवारको नेतृत्वमा उनिहरुलाई गाउँलेले निर्घात कुटपिटपछि भेरी नदीमा फ्याँकेको पीडित पक्षको दाबी छ । बाँच्न सफल समूहका सदस्यहरुको भनाई अनुसार भेरी नदी किनारको उक्त गाउँमा गाउँलेले वरिपरीबाट घेरा हालेर नदीतिर मात्र भाग्ने परिस्थिती बनाएका थिए ।
ज्यान जोगाउन भेरीमा हाम फालेका प्रेमी नवराजको शव शनिबार राती १ बजे घटनास्थलबाट करिब डेढ किलोमिटर तल भेटिएको थियो। अर्का २ युवाको शब आइतबार र सोमबार नदीमै भेटिएको थियो । नदीमा हाम फालेका ३ जना अझै बेपत्ता छन् । समूहका १२ जनालाई भने सोतीका गाउँलेले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए ।
घटनाको सर्वत्र निन्दा गरिनुका साथै निष्पक्ष छानबिन गरी दोषीलाई कारवाहीकाे माग गरिएको छ ।
प्रतिकृया दिनुहोस्