Birendranagar Municipality

सेना परिचालनको लागी संघ सरकार संग स्वीकृति माग

सेरोफेरो
सेना परिचालनको लागी संघ सरकार संग स्वीकृति माग

१४ जेठ । कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणको नियन्त्रणको लागी नेपाली सेना परिचालनका लागि संघ सरकारसँग स्वीकृति मागेको छ । कोरोना महामारीबाट प्रभावित र संक्रमित नागरिकको उद्वार र क्वारेन्टाइन व्यवस्थापनका लागि नेपाली सेना परिचालनका लागि सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो ।

 

जेठ १२ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णालीमा एकाएक कोरोना संक्रमणको दर बढेको सन्दर्भमा नेपाली सेना समेत परिचालन गर्नुपर्ने अवस्था आएको मन्त्री के.सीको भनाई छ ।

 

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु :
१ कर्णाली प्रदेश भित्र संवत् २०७७ सालमा निम्न दिनहरुमा सार्वजनिक विदा दिने र सो को सूचना राजपत्रमा प्रकाशन गर्ने ।


२ पूर्वाधार विशेष कार्यक्रम कार्यान्वयनका लागि कर्णाली प्रदेश विनियोजन ऐ, २०७६ दफा ९ बमोजिम बजेट कार्यान्वयन सहजताको लागि आदेश जारी गर्ने।


३ कर्णाली प्रदेश विनियोजन विधेयक, २०७७ का सिद्धान्त, उदेश्य, प्राथमिकता र प्रमुख नीतिहरु प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने।


४ कर्णाली प्रदेशमा व्यापार-व्यवसायको दर्ता तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने।


५ प्रदेश औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने।


६ विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को कारणबाट रोजगारी गुमाएका र महामारीबाट त्रसित भइ भारतबाट ठूलो संख्यामा नेपाली नागरिकहरु स्वदेश फर्किने क्रम जारी रहेको र यसबाट प्रदेशमा महामारी झन् फैलिन थालेको तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सुरक्षासम्बन्धी अन्य कार्यहरुमा समेत खटिनु पर्ने हुँदा महामारीबाट प्रभावित र संक्रमित नागरिकको उद्धार तथा क्वारेण्टाइन व्यवस्थापनमा समस्या हुने देखिएकोले यस कार्यका लागि नेपाली सेना समेत परिचालन गर्नुपर्ने स्थितिमा सोको स्वीकृतिका लागि नेपाल सरकारसँग अनुरोध गर्ने।

Karnali sarkar

२०७७ जेठ १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्