१५ जेठ, सुर्खेत । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको आज १२ वर्ष पूरा भएको छ । यस अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले बिहीबार गणतन्त्र दिवस मनाउँदै छन् ।
संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते राजतन्त्रको औपचारिक अन्त्यसंगै नेपाललाई गणतन्त्र घोषणा गरेको थियो । कोरोना महामारीका कारण गणतन्त्र दिवसमा कुनै औपचारिक समारोह आयोजना गरिएको छैन । सरकारले दीपावली गरेर दिवस मनाउन सबैलाई आह्वान गरेको छ ।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतले शुभकामना सन्देश दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीकाे शुभकामना सन्देश
१३ औं गणतन्त्र दिवसको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु ।
हाम्रो देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लागि भएका संघर्षमा आफ्नो अमूल्य जीवन आहुती गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा होमिएका सम्पूर्ण राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ता एवं आमजनताको योगदानको उच्च प्रशंसा गर्दै गणतन्त्रलाई थप सुदृढ तुल्याउन हार्दिक आव्हान गर्दछु ।
अपार जनसहभागितामा सञ्चालित ऐतिहासिक जनआन्दोलनको परिणामस्वरुप स्थापित जननिर्वाचित संविधानसभाको पहिलो वैठकले २०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद् स्मरण गर्दै हामीले प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउँदै आएका छौं । तर कोरोनाभाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न विषम परिस्थितिका कारण सधैँ झैं यसवर्ष औपचारिक कार्यक्रमहरू आयोजना गर्न कठिनाइ उत्पन्न भएको छ ।
आजको यस ऐतिहासिक दिवसले सम्पूर्ण नेपालीहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा यहाँ उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रूपले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु ।
यस अवसरमा सदाकाल स्वाधीन राष्ट्रको रूपमा रहेको हाम्रो देश नेपालको भौगोलिक अखण्डता कायम गर्न र राष्ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान पुर्याउने हाम्रा पूर्वजहरूको योगदानको स्मरण गर्दै उहाँहरूको स्वाभिमान, वीरता र आदर्शबाट अनुप्रेरित भई राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन हार्दिक आव्हान गर्दछु ।
निकै लामो सङ्क्रमणकालपश्चात् राजनीतिक स्थिरता र दिगो शान्ति कायम भएको वर्तमान परिवेशमा नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख आर्थिक प्रणाली र सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने अभियानमा आ-आफ्नो क्षेत्रबाट योगदान पुर्याउन सम्पूर्ण राजनीतिक दलहरू र आमजनतामा हार्दिक आव्हान गर्न चाहन्छु ।
नोवल कोरोनाभाइरसको संक्रमणमा परी स्वदेश तथा विदेशमा आफ्नो अमूल्य जीवन गुमाउने सबै नेपालीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्दछु र संक्रमित बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
अन्तमा, आजको यस ऐतिहासिक दिवसले सबै नेपालीहरूलाई ‘‘समृद्ध नेपाल, सुखी नेपाली ” को साझा राष्ट्रिय संकल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस् भन्ने शुभेच्छासहित पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु !
आज बार्हाैं गणतन्त्र दिवस । सर्वप्रथम यस दिवसको सुखद उपलक्ष्यमा म यहाँहरु सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा जन्मसिद्ध श्रेष्ठताको सामन्तवादी प्रणालीमाथि आधारित र जबर्जस्ती थोपरिएको राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापनाको सपना देख्नुहुने र तिनै सपनाद्वारा हामीलाई आन्दोलनमा मार्गदर्शन गर्नुहुने अग्रजहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।
आफ्नो जिन्दगी उत्सर्ग गरेर हामीलाई गणतन्त्रको उज्यालो प्रदान गर्नुहुने प्रातःस्मरणीय सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । गणतन्त्र प्राप्तिको यस कष्टसाध्य र लामो आन्दोलनमा सहभागी सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक अभिनन्दन अर्पण गर्न चाहन्छु ।
जनता साँचो अर्थ सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन हो । गणतन्त्र दिवस जनताले सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव हो । यस उत्सवमा म यहाँहरु सबैलाई पुनः हार्दिक वधाइ ज्ञापन गर्दछु ।
मानव सभ्यताको विकास क्रममा सामाजिक प्रबन्ध र राज्यहरूको उत्पत्ति गणराज्यहरुबाटै भएको थियो । लोकतान्त्रिक विधिबाट निर्वाचित हुने गणनायकहरुबाट गणराज्यहरुको व्यवस्थापन हुने र हरेक महत्वपूर्ण निर्णयहरु जनताको अभिमतबाट निर्णित हुने यस्तो व्यवस्थाबाटै नेपाली सभ्यताको पनि आरम्भ भएको थियो । तसर्थ, गणराज्य नेपाली समाजको मौलिक प्रणाली होे । तर समयक्रममा यो प्रणाली भत्कियो ।
सामन्तवादको थालनीसँगै जन्मसिद्ध श्रेष्ठताका आधारमा शासकहरु स्थापित हुने, उनीहरुको वंश परम्पराका आधारमा शासन व्यवस्था सञ्चालन हुने र उनीहरुको हुकुम नै कानुन हुने चरम अलोकतान्त्रिक प्रणालीहरु स्थापित र विकसित हुँदै गए । झण्डै दुई हजार वर्षसम्म चलेको यस्तो सामन्ती प्रणालीलाई अन्त्य गरेर हामीले इतिहासको एउटा महत्वपूर्ण कडीलाई जोडेका छौँ । र, विकास गरेका छौं ।
नेपालमा कुनै पनि स्वरुपको अनिर्वाचित सत्ता अन्त्य भएको छ । आज जनताले निर्वाचित गरेका प्रतिनिधिहरुद्वारा प्रतिपादन गरिएको संविधानद्वारा मुलुकको शासन व्यवस्था सञ्चालित छ । संविधानमा जनताका अधिकार एवं सर्वोत्तम हित र आकाङ्क्षाहरु प्रतिविम्बित भएका छन् ।
हाम्रा सम्पूर्ण साधनस्रोतहरू र प्रयासहरु ती आकाङ्क्षालाई मूर्त रुप दिन केन्द्रित छन् । सशस्त्र द्वन्द्वको शृङ्खला अन्त्य भएर मुलुकमा दिगो शान्ति कायम भएको छ । राजनीतिक अस्थिरता र सङ्क्रमणको पीडादायी कालखण्ड अब इतिहास बनेको छ । गणतन्त्र स्थापनासँगै हामीले हासिल गरेका यी उपलव्धिहरु गौरवपूर्ण र दूरगामी महत्वका छन् । तर यिनै उपलव्धिमा मात्र आत्ममुग्ध भएर बस्न मिल्दैन ।
गणतन्त्र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि हो । यस युगान्तकारी राजनीतिक परिवर्तनलाई सामाजिक जीवनका समग्र आयामसँग जोडेर समुन्नत प्रणाली विकास गर्न सकेमा मात्रै यो दिगो बन्न सक्छ । लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन हामीले सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाइरहेका छौँ ।
गणतन्त्र गणहरुमार्फत अर्थात् जनताहरूमार्फत जनताको तन्त्र हो । जनतालाई केन्द्रबिन्दुमा राखेर, जनताको इच्छामा र जनताका लागि सञ्चालित हुने शासन व्यवस्था हो । संविधान र कानुनमा उल्लेखित अधिकारको प्रयोग गर्न सक्नेगरी जनता सक्षम नहुँदासम्म गणतन्त्रले सार्थक रुप लिन सक्दैन ।
यसका लागि उत्पादनका साधनमा जनताको पहुँच आवश्यक छ । यसका लागि उत्पादनको न्यायोचित वितरण र न्यायपूर्ण प्रबन्ध जरुरी छ । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत विषयमा जनताको पहुँच आवश्यक छ । श्रम गर्न सक्नेका लागि रोजगारीको प्रबन्ध र श्रम गर्न नसक्नेका लागि फराकिलो सामाजिक सुरक्षाको जरुरी छ । यसका लागि अधिकार, अवसर, सुरक्षा र सम्मानमा सबैलाई समान व्यवहार गरिने कुरा सुनिश्चित हुन जरुरी छ ।
हाम्रा सम्पूर्ण प्रयासहरु यी कामहरु मार्फत् गणतन्त्रलाई जनताको जीवनसँग जोड्ने विषयमा केन्द्रित छन् । यसैलाई हामीले परिपूर्ण लोकतन्त्र भनेका छौँ ।
गणतन्त्र शासन प्रणाली मात्रै होइन । यो त नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति पनि हो ।
गणतन्त्र सामाजिक न्याय र समानतामा आधारित समृद्धि सहितको प्रणाली हो, त्यसैले यहाँ महिला, दलित, पछाडि परेका कुनै पनि समुदायमाथिका कुनै पनि विभेदहरू ग्राह्य र सह्य हुन सक्दैनन् ।
गणतन्त्रमा जाति, वर्ण, धर्म वा अरु कुनै पनि आधारमा कसैमाथि पनि असमानता, भेदभाव र छुवाछुतको व्यवहार स्वीकार्य हुन सक्दैन ।
गणतन्त्र उन्नत लोकतान्त्रिक संस्कार भएको शासन प्रणाली हो । यहाँ विचारहरुबीच स्वस्थ बहस, मान्यताहरुबीच मर्यादित छलफल र असहमतिहरुको निर्वाध अभिव्यक्तिको प्रत्याभूति हुन्छ । तर घृणा, विद्वेष र विभाजन ग्राह्य हुन सक्दैन ।
गणतन्त्र विगतका अन्य कुनै पनि प्रणालीभन्दा शासन व्यवस्थाका हिसाबले मात्रै नभएर आचरण र व्यवहारले पनि उन्नत र परिस्कृत प्रणाली हो र हुनु पर्दछ ।
गणतन्त्रमा आफ्ना विचारहरु निर्वाध ढङ्गले अभिव्यक्त गर्न पाउने स्वतन्त्रता हुन्छ, तर आफ्ना विचार या स्वार्थका लागि हिंसा र आतङ्क तथा डर र त्रासको प्रयोग स्वीकार्य हुन सक्दैन । अधिकार र कत्र्तव्यको न्यायोचित सन्तुलनले नै गणतन्त्रलाई सफल र सार्थक तुल्याउँछ ।
सरकारको प्रयास गणतन्त्रलाई हरेक हिसाबले परिपूर्ण बनाउने कुरामा केन्द्रित छ ।
१२ वर्ष आफैमा धेरै लामो अवधि होइन । गणतन्त्र स्थापनाका १२ वर्षमध्ये अधिकांश समय हामीले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन, नयाँ संविधान निर्माण गर्न र सङ्क्रमणकालको अन्त्य गर्न केन्द्रित गर्नु परेको थियो । गणतन्त्रलाई संस्थागत गर्न अधिकांश समय व्यतीत भएको यस अवधिमा पनि मुलुकले महत्वपूर्ण उपलव्धि हासिल गरेको छ । जनताको चेतनाले ठूलो फड्को मारेको छ ।
वर्षौँदेखि मूच्र्छित विकास र समृद्धिका सपनाहरुले साकार रुप लिन थालेका छन् । आफ्नो देश आफै बनाउन सकिन्छ भन्ने आत्मविश्वासमा अभूतपूर्व वृद्धि भएको छ । राष्ट्रिय एकता सुदृढ भएको छ । आफ्नो निर्णय आफै गर्ने र आफ्नो विकासको बाटो स्वतन्त्र ढङ्गले चयन गर्ने राष्ट्रको सार्वभौम अभ्यासले नयाँ उचाइ लिएको छ । विश्व रङ्गमञ्चमा एउटा सार्वभौम, स्वतन्त्र, लोकतान्त्रिक, शान्तिप्रिय र विकासको नयाँ यात्रा अगाडि बढाइरहेको मुलुकको रुपमा नेपालको छवि बलियो बन्दै गएको छ ।
लामो सङ्क्रमणको अन्त्यसँगै आर्थिक क्षेत्रमा पनि नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । यसअघि लगातार औसत ७ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल हुनु, निरपेक्ष गरिबीमा निरन्तर कमी आउनु र सुशासन, शान्ति, व्यवसायिक वातावरणजस्ता महत्वपूर्ण विश्व सूचकहरुमा उल्लेख्य सुधार आउनुले हामी सही दिशातिर अगाडि बढिरहेको स्पष्ट हुन्छ नै । कोरोना महामारी सुरु हुनु पूर्वका सूचकहरु अत्यन्त उत्साहवद्र्धक छन् ।
जनताको सेवा र विकास निर्माणका लागि सङ्घीय संरचनाका तीनै तहबीच समन्वय कायम गर्दै अगाडि बढ्ने काम भएको छ ।
गणतन्त्र स्थापनाको छोटो समयका उपलब्धिबाट हामी विश्वस्त भएका छौँ– विगतका अलोकतान्त्रिक शासन प्रणालीहरुका कारण क्षति हुन गएको, सुस्ताएको हाम्रो विकास यात्रा, ओझेलमा परेका समृद्धिका आकाङ्क्षाहरु र कमजोर बन्न पुगेको राष्ट्रिय स्वाभिमानलाई छोटो समयमै पुनस्र्थापित गर्न र नयाँ ऊर्जा भर्न सक्नेछौँ । लोकतान्त्रिक गणतन्त्रको माध्यमबाट विश्व मानचित्रमा नेपाललाई एउटा विकसित राष्ट्रको नयाँ पहिचान दिन सक्ने छौँ ।
जुनसुकै शासन प्रणालीलाई पनि संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्छ नै । प्रणाली विकासका क्रममा साना तिना कमीहरु देखा पर्न पनि सक्छन् । तर कुनै पनि कोणबाट गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने प्रतिगामी चेष्टाहरु अवश्य नै अनुचित हुन् । इतिहासको गतिलाई पछाडि फर्काउन अब कसैले पनि सक्दैन । हामी अपूर्णताबाट पूर्णतातिर र नयाँपनबाट परिपक्वतातिर अगाडि बढिरहेका छौं ।
दाजुभाइ दिदीबहिनीहरु !
आज सिङ्गो मानव समुदाय कोरोना महामारी विरुद्धको कठिन सङ्घर्षमा जुटेको छ । हाम्रो पुस्ताले भोग्नु परेको सर्वाधिक ठूलो यस चुनौतीले हाम्रा प्राथमिकताहरु मात्रै होइन, हाम्रो कार्यपद्धति र जीवनशैलीलाई नै प्रभावित गरेको छ । हामी नेपालीहरु पनि कोरोना महामारीका विरुद्धको कठिन सङ्घर्षमा केन्द्रित छाैं ।
गणतन्त्र दिवसको यस सन्दर्भमा म यहाँहरु सबैमा कोरोना सङ्क्रमणबाट सुरक्षित रहन सक्नुहोस् र यसबीचमा जसलाई सङ्क्रमण भएको छ, उहाँहरु छिट्टै निको भएर सामान्य जीवनमा फर्कन सक्नुहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु । गणतन्त्र प्राप्तिको लामो र कष्टसाध्य सङ्घर्षको अनुभवमाथि आधारित भएर भन्न चाहन्छु, यस चुनौतिलाई पनि हामीले परास्त गरिछाड्ने छौँ । भनिन्छ नि, रात जतिसुकै लामो भए पनि बिहानी अवश्यंभावी छ ।
यस्तो बेलामा हाम्रो सिंगो देश, हामी सबै दाजुभाइ–दिदीबहिनीहरू एकजुट भएर कोरोना विरुद्ध लड्न जरुरी छ । र, गणतन्त्रलाई वास्तविक अर्थमा संस्थागत गर्न एकताबद्ध प्रयासहरूलाई अगाडि बढाउन जरुरी छ । यसका निम्ति म सबैमा हार्दिक आह्वान र अनुरोध गर्दछु ।
धन्यवाद ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकाे शुभकामना सन्देश
नेपाली जनताले दशकौं लामो समयदेखि सशस्त्र एवं निशस्त्ररुपमा सञ्चालन गरेका बलिलदानीपूर्ण संघर्षहरुको ऐतिहासिक उपलब्धिस्वरुप जननिर्वाचित संविधानसभाबाट मिति २०६५ जेठ १५ गते आजकै दिन संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको घोषणा भएको थियो । गणतन्त्र दिवस २०७७ को यस गौरवमय अवसरमा प्रदेशवासी एवं सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
गणतन्त्र स्थापनाको लागि ऐतिहासिक जनयुद्ध, जनआन्दोलन र विभिन्न संघर्षका क्रममा आफनो ज्यानको आहुती दिने महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । बेपत्ता, घाइते तथा अपांगता भएका योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । साथै ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, प्रदेश प्राप्तिको आन्दोलन लगायतका सवैखाले न्यायपूर्ण आन्दोलन तथा संघर्षहरुमा सहभागी आम जनसमुदायप्रति हार्दिक आभार प्रकट गर्दछु ।
कोरोना भाइरस ९कोभिड– १९० ले श्रृजना गरेको परिस्थितिले गर्दा यस ऐतिहासिक दिनको सम्झनामा सधैंका वर्ष झै यो वर्ष व्यापक हर्षउल्लासका साथ भव्यतापूर्वक गणतन्त्र दिवस मनाउन सक्ने अवस्था हाम्रासामु रहेन । गणतन्त्र दिवसको अवसरमा यस वर्ष भौतिक दुरी कायम राख्दै सरकारी कार्यालय तथा आ–आफनो घरमा दिपावली लगायतका कार्यक्रमहरु गर्न आग्रह गर्दछु ।
विश्व समुदायसँगै प्रदेश सरकार पनि सम्पूर्ण साधनश्रोत तथा संयन्त्रको परिचालनसहित कोरोना भाइरस ९कोभिड– १९० ले श्रृजना गरेको संकटपूर्ण अवस्था अन्त्य गर्न लागिरहेको छ । हरेक समस्याको सामाधान अवश्यंभावी भएकोले कोभिड– १९ ले ल्याएको संकट पनि सामाधान गर्ने विश्वास दिलाउदै अहिलेको परिस्थितिबाट निराश नहुन तथा धैर्य गर्न आग्रह गर्दछु । बरु सम्भावित जोखिम रोकथामका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले गरेका प्रयासलाई सबै नागरिकहरुले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुहुने विश्वास लिएको छु । सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न, भौतिक दूरी कायम गर्न र स्वास्थ्य सावधानीका उपाय अवलम्वन गर्नुहुन अनुरोध गर्दछु ।
विश्व मानव जातिका अगाडि नयाँ चुनौतिका रुपमा खडा भएको यो संकटले निश्चय पनि विकास र समृद्धिको हाम्रो अभियानमा केही अवरोध उत्पन्न गरेको छ । विकास र समृद्धिको दीर्घकालीन अभियानबाट विचलित नभई कोभिड– १९ ले निम्त्याएको तात्कालिक समस्या सामाधान गर्न प्रदेश सरकारको ध्यान केन्द्रित रहेको छ । कोभिड–१९ को प्रभाव अझै केही समय रहने भएकोले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेत कोभिड प्रतिकार्यमा केन्द्रित गरिनेछ । वलिदानीपूर्ण संघर्षको प्रतिफलस्वरुप प्राप्त राजनीतिक व्यवस्थाबाट जनताले गरेको विकास र समृद्धिको अपेक्षा पूरा गर्न हाम्रासामु आइपुग्ने सवैखाले बाधा, अवरोध र चुनौतीहरुको सामना गर्दै प्रदेश सरकार लागिरहने विश्वास दिन चाहन्छु ।
अन्तमा, गणतन्त्र दिवस– २०७७ ले राष्ट्रिय एकतासहित विकास र समृद्धिको अभियान सफल बनाई सामाजिक न्यायसहितको समाजवादी राज्यव्यवस्था स्थापनाका लागि हामी सवैमा प्रेरणा प्रदान गर्ने विश्वाससहित पुनः शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।
प्रतिकृया दिनुहोस्