१८ जेठ । नेपालको संविधान दोस्रो संशोधन विधेयक संसदमा पेश भएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आइतबार बसेको संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्नुभएको छ ।
संविधान संशोधन विधेयक यही जेठ ९ गते ३ बजे संसद सचिवालयमा दर्ता गरिएको थियो । लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो ।
मन्त्रिपरिषद् बैठकले ५ जेठमा लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका भूभाग समेटिएको नयाँ नक्सा पारित गरेको थियो । त्यसको दुई दिनपछि भूमि व्यवस्था मन्त्रालयले अध्यावधिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो ।
संविधान संशोधनलाई सर्वसम्मत पारित गर्न सरकारले सबै दलहरुलाई आह्वान समेत गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपालगायतका दलले संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले यस विषयमा औपचारिक बोलेका छैनन् ।
प्रतिकृया दिनुहोस्