१९ जेठ, सुर्खेत । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा सोमबार बिहान भएको सवारी दुर्घटनामा ज्यान गुमाउने १२ जनामध्ये सबैको सनाखत भएको छ ।
सशस्त्र प्रहरी स्रोतले उपलब्ध गराएको विवरण अनुसार मृत्यु हुनेमा तिमबहादुर ओली, देउविर विक, बुद्धिराम विक, भिबहादुर विक, नरेन्द्र विक, मोहनचन्द्र विक, रामकुमार पुन, पूर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का र पवन भण्डारी छन् । ज्यान गुमाउने अधिकांश दाङ र रोल्पा जिल्लाका छन् ।
भारतको रुपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकालाई नेपालगञ्जबाट सल्यानतर्फ लैजाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोकिएर दुर्घटना भएको थियो ।
घटनास्थलको प्रकृति हेर्दा तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
गृहमन्त्री रामबहादुर थापाले घटनाको विषयमा छानविन गर्न स्थानीय प्रशासनलाई सोमबारै निर्देशन दिएका छन् ।
प्रहरीका अनुसार गाडीमा सवार अरु २० जना घाइते छन् । घाइतेको उद्धार तथा उपचारमा कुनै कमी नगर्न पनि गृहमन्त्री थापाले निर्देशन दिएका छन् ।
प्रतिकृया दिनुहोस्