२० जेठ । अफ्रिकी मूलका जर्ज फ्लोइडको मृत्युको विरोधमा अमेरिका अशान्त बनेको छ । शान्तिपूर्ण भनिएका प्रदर्शनहरूले हिंसात्मक रूप लिन थालेपछि अमेरिकाका धेरै शहरमा कर्फ्यू लगाइएको छ।
गत सोमबार जर्जलाई नियन्त्रणमा लिनेक्रममा मिनियापोलिसका प्रहरीले जर्जको घाँटी कयौं मिनेटसम्म घुँडाले दबाएका थिए । अत्याधिक बल प्रयोग गरी नियन्त्रणमा लिइएका फ्लोइडको प्रहरी हिरासतमै मृत्यु भएको थियो ।
प्रहरी ज्यादतीमा मारिएका फ्लोइडका परिवारले गराएको पोस्टमार्टममा उनको मृत्यु अक्सिजनको कमीले भएको पाइएको छ ।
राष्ट्रपति ट्रम्पले अमेरिकाभर विभिन्न शहरहरूमा दङ्गा र लुटपाट भइरहेको र सोको अन्त्यका लागि हजारौं सेना र प्रहरीलाई परिचालन गर्ने बताएका छन् ।
'दङ्गाबाट हाम्रो अति विपन्न समुदायका शान्तिप्रेमी नागरिकहरू सबैभन्दा पीडित भएका छन् र राष्ट्रपतिका हैसियतले म उनीहरूलाई सुरक्षित राख्नका लागि सक्दो गर्छुु', ट्रम्पले टेलिभिजन सम्बोधनमा भने ।
ह्वाइट हाउसबाट टिभीमा सम्बोधन गरेपछि आफ्ना सुरक्षाकर्मीसहित ट्रम्प नजिकैको गिर्जाघरमा गएका थिए । सो गिर्जाघरमा प्रदर्शनकारीहरूले क्षति पुर्याएका छन् । प्रहरीले ह्वाइट हाउस बाहिरको प्रदर्शनलाई नियन्त्रणमा लिएको छ ।

यसैगरी राष्ट्रपति ट्रम्पले राज्यका गभर्नरहरूलाई चेतावनी दिदैं प्रदर्शनकारीविरूद्ध कडा रूपमा प्रस्तुत हुन भनेका छन् । दशककै सबैभन्दा खराब नस्लीय र नागरिक अशान्ति घटनामा गभर्नरहरूको प्रतिक्रिया कमजोर भएको पनि उनले आरोप लगाएका छन् ।
प्रदर्शनकारीविरुद्ध गभर्नरहरू हाबी हुनुपर्ने ट्रम्पको भनाई छ । उनको यो बयान विवादित बनेपछि ह्वाइटहाउसका प्रवक्ताले ट्रम्पको भनाइको गलत अर्थ निकालिएको बताएका छन् । प्रवक्ता केयली म्याकनैनीले राष्ट्रपति ट्रम्पको भनाइको मतलब गभर्नरहरू नेशनल गार्डमा धेरै भर पर्नु भन्ने भएको स्पष्टिकरण दिएकी छन् ।
ट्रम्पले हिंसाका लागि वामपन्थी कट्टरपन्थी जिम्मेवार रहेको आरोप लगाएका छन् । तर, आलोचकहरूले भने राष्ट्रपति ट्रम्पले समाजमा विभाजन पैदा गरिरहेको आरोप लगाएका छन् ।
प्रतिकृया दिनुहोस्