Birendranagar Municipality

सोती घटना छानबिनका लागि संघीय संसदले विशेष समिति बनाउने

सेरोफेरो
सोती घटना छानबिनका लागि संघीय संसदले विशेष समिति बनाउने

२३ जेठ, काठमाडौं । सोती घटनाको अध्ययन तथा अनुगमनका लागि संसदीय विशेष समिति गठन हुने भएको छ ।

 

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सांसदहरुले संसदीय विशेष समिति गठन नभएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने भन्दै अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले उक्त समिति गठन गरिने जानकारी गराएका हुन् ।

 

उनले भने, ‘रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका ८ स्थित सोतीमा २०७७ साल जेठ १० गते घटेको घटनाको सम्बन्धमा अघिल्ला बैठकहरुमा पनि कुरा उठेको र आजको बैठकमा पनि माननीय पुष्पा भुसाल गौतमले कुरा उठाउनुभएको छ । त्यसैले यी विषयहरुलाई सम्बोधन गर्न उक्त घटनाको आवश्यक अध्ययन तथा अनुगमन गरी सभामा प्रतिवेदन पेश गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुसँग आवश्यक छलफल पश्चात प्रतिनिधिसभा नियमावली २०७५ को नियम १ सय ७७ बमोजिम संसदीय विशेष समिति गठन गरिने व्यहोरा माननीय सदस्यहरुलाई जानकारी गराउँदछु ।'

 

प्रतिनिधिसभाको यसअघिका बैठकमा प्रतिपक्षी दलका मात्रै नभई सत्तारुढ दलका सांससदहरुले पनि संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दे आएका थिए । तर संसदीय समिति गठनको प्रक्रिया अघि नबढेपछि शुक्रबारको बैठक सुरु हुने वित्तिकै प्रतिपक्षी दलका सांसदले उभिएर विरोध जनाएका थिए ।

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले संसदमा बोल्दै सरकारले घटनालाई राजनीतिकरण गर्न खोजेकाले प्रतिपक्षी दल संशकित भएको बताइन् । उनले घटनाबारे गृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्ति तथा अपराध अनुसन्धान गर्ने सरकारी निकायका भनाईले पछिल्लो घटना पनि निर्मला पन्तको जस्तै हुने हो कि भन्ने शंका उब्जाएको टिप्पणी गरिन् ।

 

उनले भनिन्-‘घटनाप्रति गृहमन्त्रीका अभिव्यक्तिहरु, अनुसन्धान गर्ने महान्यायधिवक्ताका अभिव्यक्तिबाट घटनालाई राजनीतिकरण गर्नका लागि, घटनालाई फितलो बनाउनका लागि , घटनाको अनुसन्धानलाई राज्यको प्रभाव पार्नका लागि र यो हल्का बनाउने किसिमबाट जुन अभिव्यक्ति आयो त्यसबाट प्रतिपक्षी दल आशंकित बन्यो, शसंकित भयो । यो घटनालाई निर्मला पन्तको घटना जस्तै राजनीतिकरण गर्ने, अपराधीलाई उम्काउने, न्याय पाउन नसक्ने पीडीत वर्गले क्षतिपूर्ति नपाउने र फेरि ठूलालाई चैन सानालाई ऐन भन्ने संसदीय समिति गठनको माग गर्न जरुरी भएर प्रतिपक्षी दलले उठाएको हो । यो विषय मानवता र मानवअधिकारको विषय ,विभेद र असमानताको विषय भएको हुनाले जब सम्म सर्वदलीय संसदीय विशेष समिति गठन हँदैन हामी यो सदनलाई अगाडि बढाउनका लागि प्रमुख प्रतिपक्षी दलले अगाडि बढाउन सक्क्तैन ।'

 

अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ स्थित भेरी नदी किनारको सोतीमा भएको घटनामा ६ जनाले ज्यान गुमाएका थिए ।

२०७७ जेठ २३ शुक्रबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्