१ असार । प्राकृतिक सौन्दर्यता र आध्यात्मिक दृष्टिकोणले नेपाल पर्यटनको केन्द्र हो । पर्यटनको ठुलो सम्भावना बोकेको एउटा क्षेत्र हो स्वर्गद्वारी । प्यूठान जिल्लाको छुट्टै पहिचान बोकेको हिन्दुहरुको पवित्र स्थान मानिने स्वर्गद्वारी महाप्रभुको आश्रमको रुपमा पनि चर्चित छ ।
माडि नदिको तिरैतिर हुदै भिग्रिबाट उकालो बाटो अलि अप्ठेरो लाग्न सक्छ । तर उकालोमा विभिन्न हिम सृङखलाको मनोरम दृष्यले लोभ्याउँछ हर कोहीको मन । सिस्ने हिमाल, धौलागिरी, जलजला, कमलदह, छायाँक्षेत्र जस्ता क्षेत्रहरु यहाँ वाट देख्न सकिन्छ । पुराना लाग्ने गाउँ–वस्ती, चराचुरुङ्गिको आवाजले बाटो काटेको पत्तै हुदैन । स्वर्गद्वारी आश्रम स्थलको अवलोकनका निम्ति स्वर्गद्वारी जानै पर्ने ठाउँ हो ।

समुन्द्र सतहबाट करिव आठहजार फिट उचाईमा पर्ने यो क्षेत्र प्राचिन समयमा स्वर्गद्वारी क्षेत्र यज्ञ भुमिको रुपमा प्रख्यात थियो । वेदव्यास जस्ता सत्रकाल दर्शी महाऋषिले यहि ठाउँमा ठुला–ठुला यज्ञ गरेको बताइन्छ । संसारमा धार्मिक क्रियाकलापमा रुचि र आस्था घटेर मानव समाज जुन बेला स्वार्थ र निन्दनीय कामतिर चासो राख्न थाल्दछ त्यस समयमा भगवानले अवतार लिइ सत्मार्गको निर्देशन गर्ने कुरा पुण्यभुमि स्वर्गद्वारी आश्रम स्थलको सुचना विभागले जानकारी दियो । स्वर्गद्वारीको दर्शन गर्न आउने मानिस साँच्चिकै भगवान र स्वर्गको अनुभुति गर्ने गर्दछन ।
यहाँ नेपाल भन्दा भारतीय मुलका दर्शनार्थिहरु धेरै आउने गरेका छन् । स्वच्छ मनले आउँदा चिताएको पुरा हुने विश्वास छ । यज्ञ स्थलमा प्रत्येक दिन हुने यज्ञ तथा हवन कार्यले परिसर गुञ्जएमान हुने गर्दछ । दर्शन गर्न आउँदा भारतीय नागरिकले चामल, दक्षिणा लगाएतका सामान ल्याउने गरेको पाईन्छ । यसको संरक्षण तथा राम्रो व्यवस्थापन गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बन्न सक्नेछ ।

यज्ञादिकर्म, वेदाध्ययन, सर्वभद्दत दया, परोपकार, ममता, वसुधैव कुटुम्वकम जस्ता मानवीय भावनालाइ मानिसले विर्सन लागेको देखि उपर्युक्त सदभाव, मानवीय नाता कायम राखी धर्मलाई लोभ हुनबाट बचाउनका लागि साक्षत वैकुण्ठवासी नारायण नै प्रभुका रुपमा अवतार हुनु भएको विश्वास सबैमा छ । जसको प्रभावले आजसम्म दुर्गम तर ज्यादै रमणीय स्वर्गद्वारी शैलशिखमा वि.सं. १९५२ देखि स्वाहाकारका गगनभेदी ध्वनि, चितरञ्जक वेदध्वनि गुञ्जायमान छन । यहाँ विभिन्न धार्मिक कार्य अविच्छिन्न रुपमा चल्दै आएका छन । यहाँ पुग्ने दर्शनार्थि वैदिक संकृतिको सजीव र जल्दा–वल्दो रुप माधुरीको शालीनतालाई अनुभव गरी नतमस्तक बन्ने गरेको पुण्यभुमि स्वर्गद्वारीमा उल्लेख छ ।
प्यूठान जिल्लाको सदरमुकाम खलंगा देखी १२ कोश पश्चिममा पर्ने यो आश्रमले वैदिक सभ्यताका धरोहर महाऋर्षिहरुको झझल्को दिलाउछ । स्वर्गद्वारी शिखरको पुर्वमा भिगी गाउँ पर्दछ । यहि गाउँको बाटो भएर यात्रिहरु जाने आउने गर्दछन । पश्चिममा कोचिवाङ, उत्तरमा खाला, दक्षिणमा धोवाघाट र गोठिवाङ गाउँ पर्दछन । स्वर्गद्वारी शिखरको नजिकै गुफा, गुप्तिसार, वनकुटी, शुकेदह, सिद्धस्थान, प्रभु पाईला, आरु खर्क, ऐसेलु पाटा जस्ता रमणीय र पवित्र स्थानहरु रहेका छन । स्वर्गद्वारी विकट पर्वत भएतापनि यहाँ पधेरा, गुहेलपानी, साउनेपानी, ठुलो पोखरी जस्ता जलाधारहरु छन ।

स्वर्गद्वारी पवित्र तपो भुमिको रुपमा परिचित छ । आश्रमका अनुसार महाप्रभुले भारतिय भक्तजनहरुलाई बढि आर्शिवाद दिने गरेको मान्यता भारतिय नागरीकमा छ । यहाँ हवन गरेमा स्वर्गमा वास पाइने विश्वास रहेको छ ।
स्वर्गद्वारी महाप्रभुको जन्म वि.सं. १९१६ मा रोल्पा जिल्लाको रुन्टि भन्ने ठाउमा भएको हो । शिव स्वरुप नारायण अवतारका रुपमा प्रभुको जन्म भएको र विश्व शान्तिका लागि प्रभुले एज्ञ सुरु गरेको मान्यता छ । यज्ञ गर्नको लागि वाल तपस्विले पवित्र भूमीको खोजि गर्दा उपयुक्त स्थान नपाएपछि आफ्नै जन्म स्थानमा यज्ञ गरीरहेका थिए । उक्त यज्ञवाट कुनै प्राप्ति नभएपछि प्युठान जिल्लाको शिखर स्वर्गद्वारीमा आई १९५२ बैशाख पुर्णिमाको दिन देखि यज्ञ र ध्यान गर्न सुरु गरेको भनाइ छ । ‘पृथ्वी लाई धर्तिमाताको रुपमा मानेर मानव जिवनमा अनेक पाप हुदै गएकोले प्रभुले उक्त ठाउँमा आई यज्ञ सुरु गर्नुभएको पाईन्छ ।’ पुन्यभुमी स्वर्गद्वारीमा भनिएको छ । प्रभुले तपस्या गरेको बाँझको रुख अझैसम्म रहेको छ, जुन भक्तजनहरुको मुख्य केन्द्र हुने गरेको छ ।

प्रभुले ध्यान र यज्ञ गर्दै जाँदा अखण्ड ४ वेद र मुखबाट अग्नि ज्वाला उत्पन्न भइ त्यहि ज्वाला अखण्ड भई अहिले सम्म ननिभेको तथा त्यहि ठाउँमा दैनिक २४ जना पण्डितहरुले यज्ञ र वेद पाठ गर्दै आईरहेका छन । यज्ञलाई गौमाता आवश्क पर्ने भएकोले प्रभुले कृष्ण भगवानसंग गाई माग गरी भगवानले गाई पठाएको र अहिले सम्म पनि त्यहि गाईको वंशज रहेका छन । उक्त ठाउमा अहिले ४००–५०० गाईहरु रहेका छन । यज्ञ गर्नलाई महाप्रभुले २० – २५ जना दक्ष पण्डितहरुको आवश्यकता हुने भएकोले यहि गुरुकुलको व्यवस्था गरी शिष्य उत्पादन गर्दै आएकका थिए । अहिले करिव ८५ देखि ९० जना शिष्यले अध्ययन गरिरहेका छन् । उक्त ठाउँमा प्युठान, दाङ र रोल्पावाट सजिलै जान सकिन्छ ।
यस्तो पवित्र र पर्यटकिय स्थलमा सरकारको उति चासो नहुनु आर्थिक विकासको एउटा पाटोमा ध्यान नदिनु जस्तै हो । स्वर्गद्वारी आश्रमको गुठि खेतियोग्य जमिन एक हजार ५० विघा र २६ हजार रोपनि जंगल क्षेत्र छ । दाङमा रहेको खेति योग्य जमिन २०५२ सालको द्वन्द पछि माओवादिले कव्जा गरी अहिले सम्म भोगचलन गरि रहेका छन । उक्त कब्जा गरिएको जमिन फिर्ता नहुँदा हिउदको समयमा गाईलाई खुवाउन भिक्षा मागेर ८०–८५ ट्रक पराल ल्याउने गरिएको छ । बाटोको स्तरोन्नति, पानीको राम्रो व्यवस्था, भक्तजनहरुलाई वासको व्यवस्था लगाएतका काम प्रभावकारी रुपमा गर्नेहो भने दैनिक हजारौँ पर्यटक भित्र्याउन सकिन्छ ।
(तस्बिर : गुगल)
प्रतिकृया दिनुहोस्