३१ मे २०२० का दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षाकर्मीले ह्वाइटहाउस भित्रको विषेश बंकरमा १ घण्टा भन्दा बढी राख्नुपर्यो । यो कुनै तालिवानी, इस्लामिक स्टेट वा बोकोहराम समूहको आक्रमणको कारणले होइन । बरु २५ मे २०२० (जेठ १२ २०७७) मा अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसमा काला जातिका नागरिक जर्ज फ्लोयडको गैरन्यायिक हत्याको बिरुद्ध गरिएको आन्दोलन चर्किएपछि हो ।
जर्ज फ्लोयडलाई प्रहरीले नियन्त्रणमा लिएर घुँडाले घाँटीमा थिचेर हत्या गरेको भिडियो सार्वजनिक भएसंगै अमेरिकाका विभिन्न राज्यमा आगो दन्किएको छ । उक्त आगोले ह्वाइट हाउस नजिकै पुगेर नियन्त्रण गुमाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जको हत्याको भिडियो आफूले हेरेको र माफी गर्न लायक नभएको भनेपनि स्थिति नियन्त्रण बाहिर जाँदैछ । गोरा अमेरिकी प्रहरीमा भएको जातीय अहंकारको परिणाम हो उक्त घटना ।
संसारमा आजपर्यन्त जातिभेद, रंगभेद र जातीय अहंकार कायम छ । लोकतन्त्रको जननी मानिने बेलायतका राजकुमार ह्यारीले कालो वर्णकी आमा डोरियो रगल्याण्डबाट जन्मिएकी मेगन मार्कलसंग विहे गर्दा राजकीय सुविधा त्याग्नुपर्यो । दरबारभित्रैबाट राजकुमार विलियम र उनकी श्रीमती केटले दिने पीडा त दिएकै थिए तर जब जनस्तरबाट कडा अपमान भयो मेगन र ह्यारीलाई सहन गार्हो भयो । यतिसम्मकि राजकुमार विलियमकी श्रीमती केट गर्भवती भएको बेला पेटमा हात राखेको फोटो सार्वजनिक हुँदा ठूला मिडियाले 'हुर्किरहेको राजकुमार' भनेर समाचार लेखे । जब मेगन गर्भवती भइन् र पेटमा हात राखेको फोटो बाहिरियो तिनै मिडियाले 'नकच्चरीको नाटक' लेखे ।
जनस्तरमा जातीय अहंकार
केही महिना अघि जाजरकोटको एउटा विद्यालयमा छलफलको लागि गएको बेला एक शिक्षकले विद्यालय व्यवस्थापन समितिको अध्यक्षलाई हेपेरै तिमी भनेर बोलाउँदै थिए । परिचयको क्रममा थाह भयो उनी शिक्षक ठकुरी र व्यवस्थापन समितिका अध्यक्ष दलित समूदायका रहेछन् । समूदायमा विवाद भयो भने पनि हेपेर कामी, दमाई आदि भन्ने चलन हाम्रो समाजमा छंदैछ ।
२०७५ सालमा प्यूठानमा एक मेयरले प्रमुख प्रशासकीय अधिकृतका बारे गुनासो गर्ने क्रममा ‘यो कस्तो कामी सार्की जस्तो छ’ भन्नुभयो । सांसद कोमल वली र पूर्वसचिव भीमप्रसाद उपाध्यायले ‘मरेपछि डुमै राजा’ भनेको लेखेको सबैलाई थाहा नै छ । जातीय अहंकार र घृणा जनस्तरमा निकै बलियो गरी जरा गाडेको छ । जातीय अहंकार, घृणा र भेदभाव हुनु रुपान्तरणको लागि निकै चुनौतिपूर्ण कुरा हो । हिन्दु सभ्यताले समाजको अगुवाई गरेको भारत र नेपालमा जातीय व्यवस्था एक सामाजिक संस्थाको रुपमा रहिआएको छ ।
नयाँ पुस्ता र वौद्धिक जगतमा जातीय अहंकार
हिजोआज चौरजहारी घटनाले सामाजिक सञ्जाल तातेको छ । यही सिलसिलामा एक जना युवाले ‘यो ब्राहणवाद भनेको के होला?’ भनेर लेख्नुभयो । कतिपय गैरदलित युवाहरुको सामाजिक परिवर्तनप्रति सकारात्मक धारणा भएर पनि बुझाइमा कमी छ । उनीहरुलाई बुझाउनु पनि पर्छ भनेर ब्राहणबाद हिन्दु सभ्यतासंगै जातीय व्यवस्थाको दर्शन हो भनेर बिस्तृत रुपमा लेखिदिएं । प्रतिक्रिया आयो–‘तपाईंको ज्ञानको झोली बन्द गर्नूस्’ । बौद्धिक कम्यूनिष्ट समूह भन्ने फेसबुक आइडीमा नवराज तिमिल्सिना लेख्छन्-‘म बाहुनको छोरा, जबसम्म दलितको नाममा कोटा प्रणाली रहन्छ म जातीय विभेद गरिरहन्छु ।’
प्रसंगवस म १० वर्षको हुँदा गाउँकोे एक बैठकमा आमासंगै गएको सम्झन्छु । बैठकमा एक जना बाजे (कामीले) थोरै के बोल्नुभाको थियो, उपस्थित भीडले ‘चुप लाग्–कामी नाच्दैन, नाचे बाँच्दैन’ भन्यो । उनीसंग चुप लाग्नुको विकल्प थिएन । तपाईंको ज्ञानको झोली बन्द गर्नूस भन्नेको आशय पनि उस्तै थियो । सायद ती साथीले बाहुनवादको परिभाषा कुनै बाहुनबाटै खोज्नुभएको थियो ।
नेपालमा बौद्धिक वर्गको चेतनामा भयङ्कर जातीय अहंकार छ । यो बौद्धिक जमातले दलित समूदायको ज्ञान, सीप र क्षमतालाई निरपेक्ष रुपमा उपेक्षा गर्छ । कुनै पनि दर्शन वा ज्ञान सामाजिक द्वन्द्वका उपज हुन् जुन तटस्थ र निरपेक्ष हुनै सक्दैन । समाजमा जो उच्च वर्ग, लिंग वा जातमा पर्छ उसैको कुरा मान्य हुन्छ । दार्शनिक कार्ल मार्क्सले सन् १८४७ मा कम्यूनिष्ट घोषणापत्रको पाण्डुलिपी तयार गर्दै थिए । उक्त पाण्डुलिपी पढेपछि पाउल जोसेफ प्रोडनले दरिद्रको दर्शन भनेर हेपेछन् । जवाफमा मार्क्सले दर्शनको दरिद्र लेखे । जुन सामाजिक संरचानाको द्योतक थियो ।
नेपालको प्राज्ञिकता मूल रुपमा वर्गीय र जातीय समाजभन्दा माथि छैन । डोरबहादुर बिष्टले भनेजस्तै नेपालको अधिकांश बौद्धिकता चाकडीको उपज हो यसले रुपान्तरणमा योगदान गर्दैन । यद्धपी सकारात्मक सोच राख्ने समूह अल्पमतमा छ । एक महिला सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘म बाहुनको छोरी हुँ, मेरो घर गुल्मीको गाँउमा पर्छ, मेरो मिल्ने साथी परियार(दमाई) हुनुहुन्थ्यो, म संगै खान्थें, विभेद गरिन । अहिले बाहुनलाई मात्र गाली गरेको देख्दा दुःख लाग्छ’ । उहाँहरुमा मानव मर्यादा र आत्मसम्मानप्रतिको बुझाईमा कमी छ ।
मानवीय मूल्यलाई खण्डित रुपमा बुझ्ने भनेकै कहीं न कहीं जातीय अहंकार बाँकी नै छ भन्ने हो । ‘संगै बसेर खाए त पुग्यो तर घरभित्र किन ल्याउने वा विवाह नै किन स्वीकार गर्ने’ भन्ने तहको बुझाईको अभिव्यक्ति हो त्यो । मानव कालो वा गोरो, होचो वा अग्लो, मोटो वा पातलो हुनसक्छ तर आत्मसम्मान एउटै हो ।
राज्यमा जातीय अहंकार
नेपालको राज्य प्रणाली दलित, मधेशी, थारु र आदिवासी जनजातिलाई दबाउने हतियारमात्र हो । जेठ २० गते संसदको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापाले अमेरिकामा पनि जातीय विभेद छ भन्दै नेपालमा भएको जातीय विभेदलाई स्वाभाविक करार गरे ।
२०७२ सालमा धरानमा भएको एक कार्यक्रममा नेपाल प्रहरीका तत्कालीन एसएसपी पवन खरेलले नेपालमा जातीय छुवाछुत स्वाभाविक रहेकोले दलितहरु आफ्नो हैसियतमा बस्नुपर्ने बताए । २०७४ सालमा बारामा प्रदेश २ सरकारका अर्थमन्त्री जितेन्द्र सोनाल प्रमुख अतिथि भएको मन्दिर उट्घाटन कार्यक्रममा दलितहरुलाई बहिष्कार गरियो । यी कुनै पनि घटनामा कसैलाई पनि कारवाहीको दायरामा नल्याउनुको सोझो अर्थ हो–राज्यले जातीय विभेदको संरक्षण गरिरहेको छ ।
एक ताजा सर्वेक्षण अनुसार प्रतिदिन ३ जना दलित जातीय आधारमा गरिने विभेदको पीडा भोग्न बाध्य छन् । बन्दाबन्दी शुरु भएदेखि देशमा ३२ वटा जातीय विभेदका घटना दर्ज भएका छन् । कुनै पनि घटनाका पीडितले न्याय पाएका छैनन् ।
नेपालमा न्यायालयले पनि दलितलाई न्याय दिन सकेको छैन । उदाहरणका लागि अन्तरजातीय विवाहको विषयलाई लिएर २०६८ सालमा धार्दिङको मुलखर्कमा सुवेदी थरकाले १३ वटा दलितका घर भत्काइदिए । उनीहरुलाई कुटपिट र विस्थापित गरिदिए । अदालतमा मुद्दा गयो । सुवेदीहरुले जिते । २०६८ सालमै दाङदेउखुरी जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद बगालेले कार्यालयमै श्राद्ध गरे । त्यतिबेला उनले दलित बाहेकका कर्मचारीलाई मात्र प्रसाद बाँडे । त्यहाँ कार्यरत दुई जना दलित कर्मचारीलाई प्रसाद पनि दिएनन ।
सामाजिक सद्भाव कसरी?
२०७६ चैत २६ गते पोखरा महानगरपालिका १६ मा भएको जातीय विभेदको घटनामा गण्डकी प्रदेशका सांसद कृष्ण थापाले जातीय विभेदको नाममा उच्छृंखल तत्व र अतिवादीहरुले षडयन्त्र गरेको र सदियौंदेखि चलिआएको सामाजिक सद्भावमा खलल पारेको विज्ञप्ती जारी गरे । संगसंगै सयौंको संख्यामा उनका थापाबन्धुहरु जम्मा भई पीडित मोहन सुनारको घर घेरेर जे पनि हुन सक्ने धम्की दिए । ढोकामा ताल्चा लगाएर घरभित्र बसेकाले मात्रै मोहन सुनारको ज्यान जोगियो ।
सामाजिक सद्भावको अर्थ दलितले विभेद सहनुमात्र होइन । यद्धपी यस्ता घटनामा दलितहरुले विभेदको विरुद्ध आवाज उठाउँदा समाजको एउटा तप्काले खिसीटिउरी गर्छ । दलितको माग पनि सामाजिक सद्भावनै हो–यस्तो सद्भाव जसले समानता कायम गर्न सकोस् । वर्षौंदेखी रहिआएको सद्भाव भनेकै गैरदलितले दलितमाथि गरेको अत्याचार र थोपरेको अन्याय हो जुन अब स्वीकार्य छैन ।
सामाजिक सद्भाव भनेको एक मानवले अर्को मानवको आत्मसम्मानको रक्षा गर्न योगदान गर्नु हो । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव वान की मूनले भनेजस्तै ‘गरिबी र अभाव त छ नै, मानवको आत्मसम्मान विना सद्भाव संभव छैन’ । दलितहरु कहिल्यै सामाजिक सद्भावको विरुद्धमा छैनन् । यसको अर्थ विभेद स्वीकार्य छ भन्ने होइन ।
हालै भएको सोती घटना पनि सामाजिक विभेदकै निरन्तरता हो । जातीय अहंकारका कारण मानवीय संवेदना गुमाएकाहरुबाट यस्तो घटना भएको हो । उक्त घटनामा राज्य न्यायका पक्षमा कसरी उभिन्छ त्यो हेर्न भने बाँकी छ ।
प्रतिकृया दिनुहोस्