Birendranagar Municipality

रुपन्देहीको तिलोत्तमामा ५ जनाको सामूहिक हत्या

सेरोफेरो
रुपन्देहीको तिलोत्तमामा ५ जनाको सामूहिक हत्या

२७ जेठ, रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा सोमबार राती ५ जनाको सामूहिक हत्या भएको छ ।

 

हत्या हुनेमा सैनामैना मुर्गियाका ४१ वर्षीय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १४ वर्षीय रमेश भनिने पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र आशिष चौधरी रहेका छन् ।

 

मृतकमध्ये ३ जना कृष्णबहादुर पुनको गंगादेवी पशु फार्ममा काम गर्ने र अरु २ जना सोही गाउँका हुन् । घटनास्थल नजिकै लुकेर बसेका आरोपीले फरुवा (कोदालो) प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी हेमकुमार थापाका अनुसार गाईभैँसीको गोठअगाडि सुतेका पाँचैजनाको हत्या आफूले गरेको ती व्यक्तिले प्रारम्भिक बयान दिएका छन् । आरोपी सुर्खेत घर भएका ३१ वर्षीय झसेन्द्र सिंजाली हुन् ।

 

माधव र जानकी श्रीमान–श्रीमती हुन् भने पोषराजलाई फार्म सञ्चालक पुनले धर्मछोराका रुपमा पालेका थिए । पुनका अनुसार रमेशका साथीहरु करण र आशिष रमेशसँग समय बिताउन प्रायः रातिमा गोठमै बस्थे ।

 

श्रीमतीसँग सम्बन्ध बिग्रिएपछि करिब २ महिनाअघि झसेन्द्र उक्त फार्ममा काम गर्न आएका थिए । स्थानीयका अनुसार उनले दैनिकजसो मदिरा सेवन गर्थे ।

 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी खड्गबहादुर खत्रीका अनुसार मृतकहरुको टाउको र घाँटीमा चोट लागेको छ ।

२०७७ जेठ २७ मंगलबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्