२७ जेठ, काठमाडौं । रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा भएको घटनाको प्रमुख कारण जातीय विभेद रहेको इन्सेकले जनाएको छ । इन्सेकले सोमबार सार्वजनिक गरेको स्थलगत अध्ययन प्रतिवेदनमा उक्त तथ्य प्रमुख रहेको खुलाइएको छ ।
इन्सेकले घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठन गरी सत्यतथ्य उजागर गर्न तथा घटनाका आरोपितलाई कानुनी दायरामा ल्याउन समेत माग गरेको छ ।
घटनाको अनुसन्धानमा सहयोग सहयोग पुग्ने किसिमले नागरिक समाजको तर्फबाट गरिएको उक्त अध्ययन प्रतिवेदन इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठ नेतृत्वको टोलीले संघीय संसद र मानव अधिकार आयोगमा बुझाएको छ ।
प्रतिवेदन बुझ्दै संसदको कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल र आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले घटनाको अनुसन्धानमा इन्सेकको अध्ययनलाई सन्दर्भ सामग्रीका रूपमा लिइने बताए ।
जेठ १० गते भेरी नगरपालिका जाजरकोटका नवराज विक गाउँका १९ जना लिएर ठकुरी परिवारकी प्रेमिका लिन रूकुम पश्चिमको चौरजहारी ८ सोती पुगेपछि गाउँलेले आक्रमण गर्दा विकसहित ६ जनाको मृत्यु भएको थियो ।
प्रतिवेदनमा उल्लेख गरिएका तथ्यहरू
कथित माथिल्लो जातिकी किशोरी र कथित दलित किशोरबीचको प्रेमसम्बन्ध अन्ततः हत्या जस्तो गम्भीर अपराधका रूपमा परिणत भएको छ ।
स्थानीयहरूले घरेलु हातहतियारसहित (हँसिया, कुटो र दाउरा) लखटेको र भेरी नदीको किनारमा पुर्याई ती हतियार प्रयोग गरी आक्रमण गरेका थिए ।
स्थानीयको कुटपिटबाट मृत्यु भएका युवाहरूको शव विभिन्न मितिमा भेरी नदीमा मृत अवस्थामा फेला पर्यो ।
भेरी नदीमा फेला परेका शवको प्रकृति हेर्दा पेट नफुलेको, पानी नखाएको, शरीर नसुन्निएको अवस्थामा थिए ।
घटनामा दोहोरो भिडन्त वा प्रतिकार भएको थिएन । घटनामा संलग्न कुनै पनि स्थानीयलाई चोटपटक लागेको वा घाइते भएको पाइएन ।
घटना शुरु भएको आधा घण्टापछि घटनास्थल पुगेको प्रहरीले १२ जनालाई उद्धार गरेको थियो । उद्धार गरेका सबै जनाको चौरजहारी मिसन अस्पतालमा उपचार गराई अभिभावको जिम्मा लगाएको पाइयो ।
प्रतिवेदन हेर्नुहोस् :
प्रतिकृया दिनुहोस्