Birendranagar Municipality

संविधान संशोधनको पक्षमा सवै सांसदहरु एकै ठाउँमा

सेरोफेरो
संविधान संशोधनको पक्षमा सवै सांसदहरु एकै ठाउँमा

२७ जेठ । प्रतिनिधिसभामा विचाराधिन रहेको संविधान सशोधन विधेयकमा सवै सांसदहरु एक ठाउँमा उभिएका छन् । संसदले लिम्पियाधुरासहितका भूभाग समेटिएको नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पास गरेको छ ।

 

उक्त प्रस्तावका सम्वन्धमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित सबै दलका सांसदहरुले विधेयकको पक्षमा धारणा राखेका छन् । सत्तापक्षसहित प्रमुख विपक्षी कांग्रेस, समाजवादी र राजपाका सांसदहरुले संविधान संसोधन विधेयकको स्वागत गर्दै समर्थन रहेको जानकारी दिएका छन् ।

 

सत्तारुढ सांसद कृष्णभक्त पोखरेलले आफ्नो भूमि समेट्ने गरी नक्सा सम्बन्धी संविधान संशोधन विधेयक ऐतिहासिक रहेको बताए । उनले केही सांसदहरुले लिम्पियाधुरा नेपालको होइन भन्ने अभिव्यक्ति दिएकोमा आपत्ति जनाए।

 

यस्तै सत्तारुढ सांसद गंगा चौधरीले देशको अखण्डता र कानुन विपरीत बोल्नेलाई अपराध संहिताअनुसार कारबाही गर्न माग गरिन्। ‘हाम्रो भूगोलका निम्ति सुगौली सन्धीलाई खारेज गर्नुपर्छ, ग्रेटर नेपालको नक्सा सार्वजनिक गर्नुपर्छ। हाम्रो भूमिमा सम्झौता गर्न सक्दैनौं। सरकारलाई धन्यवाद दिन चाहन्छौं’, उनले भनिन्।

 

यस्तै कांग्रेस सांसद बालकृष्ण खाँडले कांग्रेस संविधान संशोधनको पक्षमा रहेका बताए। ‘हामीले निर्णय गरिसकेका छौँ। कांग्रेस नेतृत्वको सरकारले भारत र चीनबीच सहमति हुँदा विरोध जनाएको थियो। त्यसपछि पनि हामीले निरन्तर यस विषमया नेपालको भूभाग नेपालकै भएको दाबी गर्दै आएका छौँ’, उनले भने।

 

समाजवादी पार्टीका सांसद राजेन्द्र प्रसाद श्रेष्ठले संसोधन विधेयकको सबैले समर्थन गर्नुपर्ने बताए। उनले भने, ‘आन्तरिक र बाह्य राष्ट्रियता फरक हुन्। नेपालको भौगोलिक अखण्डता, सार्वभौम सत्तामा सम्झौता हुन सक्दैनँ।’ 

 

कांग्रेस सांसद पुष्पा भुषालले पनि विधेयकको पूर्ण समर्थन गर्न चाहेको बताइन्। लिम्पियाधुरा नेपालको हो भन्ने सुगौली सन्धिले निर्धारण गरिसकेको उनले बताइन्।

 

राजपाका लक्ष्मणलाल कर्णले आफूहरुको राष्ट्रियतामा शंका नगर्न आग्रह गरे। ‘नेपालको स्वाधिनता प्रति दुई मत छैन। सरकार पक्षबाट हामीलाई होच्याउने काम भयो। म मात्रै राष्ट्रवादी हुँ भन्ने कल्पना नगर्नुहोस्। हाम्रो भूभागलाई सात प्रदेशमा बाँडेका छौं कहाँ कहाँ छ, भन्ने नोटिस गरेको भए हुन्थ्यो। सुगौधी सन्धि समय सापेक्ष गरिएको छ। त्यसपछि पनि सन्धि भएको महाकाली सम्झौता भएको छ। जुन प्रयास भो राम्रो प्रयास भएको छ’, उनले भने।
देशसञ्चारको सहयोगमा

२०७७ जेठ २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्