Birendranagar Municipality

लकडाउनमा मानव अधिकारको सम्मान गर्न आग्रह

सेरोफेरो

२८ जेठ, सुर्खेत । कोरोना भाइरसको संक्रमण रोक्न जारी लकडाउनका कारण भएको मानव अधिकार हननको विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ ।

दैलेखस्थित मानवअधिकारकर्मीहरुले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी मानव अधिकारका विभिन्न सवालमा सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

‘हालको विषम अवस्थामा विपन्न वर्गका नागरिकहरुको अवस्था, मानव अधिकारको अवस्था, नागरिकहरुको नैसर्गिक अधिकार, उपभोक्ता/खाद्यअधिकार तथा स्वास्थ्य सेवामा पहुँचका लागि तत्काल सुधारका कदम चाल्न सबै तहका सरकार र सरोकारवालाहरुलाई अपिल गर्दछौ’, विज्ञप्तिमा उल्लेख छ ।

नागरिक समाज संस्थाको तर्फबाट जिल्ला अदालत नेपाल बार इकाइ दैलेखका अध्यक्ष माधवराज अधिकारीद्वारा हस्ताक्षर गरिएको उक्त प्रेस विज्ञप्तिमा मानव अधिकार एलाइन्सका केन्द्रीय उपाध्यक्ष सुरेशकुमार गौतम, गैसस महासंघ दैलेखका अध्यक्ष महारुप खत्री अध्यक्ष, नेपाल मानव अधिकार संगठनका दीर्घराज अधिकारी, उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष कुलबहादुर बिक, नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसी, इन्सेकका अमर सुनार, महिला सशक्तिकरण मञ्च दैलेखका अध्यक्ष सुनिता चन्द, खाद्यअधिकार सञ्जालका संयोजक यज्ञराज थापा, एभरेष्ट क्लबका दिपककुमार शाही र सोसेककी टिकादेवी जैसीले ऐक्यवद्धता जनाएका छन् ।

विज्ञप्तिमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारी तवरबाट भएका उचित कार्यहरुको प्रशंसा गरिएको छ ।

भारतमा काम गर्न गएकाहरुको आउने क्रम बढेपछि दैलेखमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

ध्यानाकर्षणका विषयहरु
भारतबाट दैनिक हजारौंको संख्यामा घर फर्किरहेका नेपालीहरुलाई सिमाका जिल्लाहरुमा क्वारेन्टाइनको व्यवस्थापन गर्नुका साथै थप स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको परिचालन गर्ने ।

तीन तहबीचका सरकारहरुको उचित समन्वय हुन नसक्दा संक्रमण फैलने भएकाले प्रभावकारी कदम चाल्नुपर्ने ।

मापदण्ड अनुसारका क्वारेन्टाइन निर्माण गर्नुपर्ने साथै खान बस्न उचित प्रबन्ध गर्ने ।

खाद्य सामग्रीको मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रण गरी उपभोक्ता अधिकारको संरक्षण गर्नुपर्ने ।

गुणस्तरीय स्वास्थ्य सेवा र औषधीको व्यवस्था गर्नुपर्ने ।

खाद्यान्न, मल तथा विउको अभाव देखिएकाले तत्काल आपूर्ति गर्ने ।

मानव अधिकार उल्लंघन भए नभएको अनुगमन गर्ने ।

२०७७ जेठ २८ बुधबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्