२९ जेठ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने मन्त्रिपरिषदले निर्णय गरेको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको अन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।
शिक्षा मन्त्रालयले गठन गरेको सुझाव कार्यदलले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसईई परीक्षा लिने विकल्प दिएको थियो ।
देशभरका सार्वजनिक विद्यालयहरूमा क्वारेन्टिन स्थल बनाएको अवस्थामा तत्काल परीक्षा सम्भव नभएको सरकारको ठहर छ । एसईई परीक्षा गत चैत ६ गते हुने तय भएको थियो । तर अन्तिम समयमा चैत ५ गते साँझ कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले स्थगित गर्ने निर्णय गरेको थियो ।
परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।
चैत ८ गतेदेखि हुने कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा पनि बन्दाबन्दीका कारण स्थगन गरेको थियो । विश्वविद्यालयका परीक्षा पनि स्थगन गरिएका छन् । यसबारे भने अहिलेसम्म कुनै निर्णय भएको छैन ।
प्रतिकृया दिनुहोस्