३१ जेठ । भारतको अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूभाग निशान छापमा समावेश गरी संविधान संशोधन गर्न प्रतिनिधिसभामा पेश गरिएको प्रस्ताव सर्वसम्मतले पारित भएको छ।
कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्बाहाम्फेले विधेयकमा दफावार छलफल गर्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। अतिक्रमित भुमी समेटिएको नेपालको नयाँ नक्सासहितको निशान छाप संशोधन विधेयक संसदबाट सर्वसम्म पारित भएको हो।
संसदमा उपस्थित कुल २५८ जना सांसदमध्ये सबैले संविधान संशोधन पक्षमा मतदान गरेका छन्। विपक्षमा भने कुनै मत परेन।
दफाबार छलफल सकिएपछि नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ परित गरियोस् भन्ने प्रस्तावमाथि मतदान भएको थियो।
लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजतन्त्रमा गुमेको भूमि गणतन्त्रमा फिर्ता ल्याउन लागिएको बताउनु भयो ।
प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मलुकको सार्वभौमसत्ता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायम भएको धारणा राख्नुभयो । संविधान संशोधन विधेयक मुलुकको हितमा भएका कारण कांग्रेसले केन्द्रीय समिति र संसदीय दलले समर्थन गरेको बताउनु भयो ।
राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद राजेन्द्र महतोले ५८ वर्ष पहिलेसम्म लिम्पियाधुरा, कालापानी लगायतका भूमि नेपालको नक्सामा रहेको स्मरण गर्दै 'कुन देश बेचुवाले देश बेच्यो? स्वेतपत्र जारी गर्नु पर्दैन? देश बेचुवाहरुलाई टुँडिखेलमा झुण्ड्याउनु पर्दैन?' भनी प्रश्न गर्नुभयो ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि संविधान संशोधन प्रस्तावको समर्थन गर्दे सुगौली सन्धिभन्दा पछाडि हटेर महाकाली सन्धि गरिएको भन्दै कांग्रेस र कम्युनिस्ट नेताहरुले माफी माग्नुपर्ने धारणा राख्नुभयो ।
प्रतिकृया दिनुहोस्