Birendranagar Municipality

वीरेन्द्रनगरको सातौं नगर सभाः नगर अस्पताल स्थापना गरिने, रोजगारीलाई प्राथमिकता

सेरोफेरो
वीरेन्द्रनगरको सातौं नगर सभाः नगर अस्पताल स्थापना गरिने, रोजगारीलाई प्राथमिकता

१० असार । वीरेन्द्रनगर नगरपालिका, सुर्खेतको सातौ सभा शुरु भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिका कार्यबाहक नगर प्रमुख मोहनमाया ढकालले कूल बजेट १ अर्व ४२ करोड ९९ लाख ९१ हजार ८२३ रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ ।

 

नगरसभामा व्यय तर्फ, चालु खर्च रु. ९० करोड ४० लाख १४ हजार ४०० र पूँजीगत तर्फ ५१ करोड ६७ लाख ९८ हजार ४२३ तथा वित्तिय व्यवस्था तर्फ ८२ लाख ८० हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।

 

नगरपालिकाले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारलाई विशेष प्राथमिकता दिदै नगर अस्पताल स्थापना गर्न रु ५ करोड विनियोजन गरेको का.बा प्रमुख मोहनमाया ढकालले बताउनु भयो । यसैगरी महिला स्वरोजगार, युवा स्वरोजगारमा जोड तथा कृषिमा विशेष जोड दिईएको छ । भारत लगायत विदेशबाट नगरमा भित्रिएका नगरबासीको सीप स्वदेशमै प्रयोग गर्ने वीरेन्द्रनगरले नीति लिएको छ ।


नगरसभामा सशर्त बाहेक नगरपालिकाबाट विनियोजित बजेट मध्ये आर्थिक विकासतर्फ रु ४ करोड ३६ लाख १० हजार विनियोजन गरिएको छ । यसैगरी सामाजिक विकास तर्फ रु १२ करोड ३० लाख ३१ हजार, पूर्वाधार विकास तर्फ रु १४ करोड २९ लाख ४५ हजार ९४९, वातावरण तथा विकासतर्फ रु २ करोड ३१ लाख ७५ हजार तथा
संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ रु ६ करोड १२ लाख ८५ हजार विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत टीकाराम ढकालले जानकारी दिनुभयो ।

Nagar sabha Binapa

यस्ता छन नगरपालिकाका मुख्य प्राथमिकता :

  • कोरोना रोकथाम, नियन्त्रण तथा उपचारलाई विशेष प्राथमिकता, जम्मा रु ५ करोड विनियोजन, एउटा नगर अस्पताल स्थापना गरिने ।
  • महिला स्वरोजगार, युवा स्वरोजगारमा जोड र कृषितर्फ जोड ।
  • भारत लगायत विदेशबाट नगरमा भित्रिएका नगरबासीको सीप स्वदेशमै प्रयोग गर्ने ।
  • शहरी क्षेत्रमा कौषी खेतीमा जोड।
  • नगरक्षेत्रका उत्कृष्ट पत्रकारिता गर्ने महिला र पुरुष गरी २ जना संचारकर्मीलाई नगर विकास पत्रकारिता पदक तथा जनही रु ५० हजार नगद पुरस्कारबाट सम्मान।
  • छोरी छात्रवृत्ति कार्यक्रमः कानून विषयमा उच्च शिक्षा अध्ययन गर्न १६ जनालाई छात्रवृत्ति दिईने ।
  • विद्यालय सुधार, वैकल्पिक तरिकाको शिक्षण, सम्बन्धित तहको शिक्षकबाट प्रधानाध्यापक नियुक्ति, कार्यसम्पादन करार ।
  • फोहोरमैला व्यवस्थापनमा एकीकृत नीति तर्जुमा गरी नीजि क्षेत्रसँग सहकार्य गरिने।
  • नगरभित्रका सबै महिलाहरुको पाठेघरको स्क्रिनिङ गर्न अभियानको रुपमा लैजाने ।
  • सबै गर्भवतीको निःशुल्क भिडियो एक्सरे, महिलालाई निःशुल्क सेनेटरी प्याड वितरण, मातृशिशु सुरक्षाका लागि आफ्नै एम्बुलेन्स संचालन निरन्तरता।
  • विद्युतीय सुशासनमा जोड( एकीकृत सफ्टवेयर निर्माण, नगर क्षेत्रभरी आफ्नै अप्टिकल फाईबर र ईन्टरनेट।
  • गुनासो सुनुवाईको लागि नगरमा टोलफ्री नम्बर स्थापना।
  • सहकारीसँगको सहकार्यमा कम्तीमा एउटा सुपथ मुल्यको पसल संचालन।
  • सुब्बाकुना घुस्रा बांगेसिमल जोड्ने सहायक राजमार्गको सम्भाव्यत अध्ययन र साझेदारीमा काम थालनी, खोला नाला नदि तथा बाटोको क्षेत्राधिकार कायम ।
  • गुरुयोजना अन्तिम रुप दिईने, सहरी नापीको निरन्तरता।
  • वडा नम्बर १५ र १६ मा विद्यूतीकरण निरन्तरता, मूल बजारको विद्युतीकरण अन्डरग्राउन्ड गर्न सहकार्य गरिने।
२०७७ असार १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्