Birendranagar Municipality

सोती घटनामा वडाध्यक्षसहित २३ जनालाई जेल चलान

सेरोफेरो
सोती घटनामा वडाध्यक्षसहित २३ जनालाई जेल चलान

तस्बिर गुगलबाट

१० असार । रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा भएको घटनामा संलग्न २७ प्रतिवादीमध्ये वडाध्यक्षसहित २३ जनालाई अदालतले थुनामा पठाएको छ ।

रुकुम पश्चिम जिल्ला अदालतले बुधबार चौरजहारी नगरपालिका वडा नं ८ का अध्यक्ष डम्मरबहादुर मल्ल र केटीका बाबुसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

अदालतले केटीकी आमालाई १ लाख धरौटीमा तथा इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई साधारण ताखेरमा छाड्न आदेश दिएको छ ।

घटना भएको ठिक एक महिनापछि अदालतले उक्त आदेश दिएको अधिवक्ता रामचन्द्र गौतमले जानकारी दिए ।

असार ५ गतेदेखि सुरु भएको थुनछेक बहस बुधबार सकिएको छ । जसमा ५ जना सरकारी वकिल र जाहेरीवालाको तर्फबाट ३ जना वरिष्ठ अधिवक्तासहित २० जनाले बहस गरेका थिए।

अदालतले यसअघिनै मृतक नवराज विककी प्रेमिका १७ वर्षीया किशोरी र उनका भाईलाई नाबालक भएको हुँदा तत्कालका लागि सुधार गृहमा पठाउन आदेश दिएको थियो ।

जेठ १० गते जाजरकोटका ५ र रुकुम पश्चिमका १ सहित ६ जनाको ज्यान जानेगरी भएको घटनामा संलग्न वडाध्यक्ष डम्मरबहादुर मल्ल, प्रेमिका, उनका बाबु, आमा र भाईसहित ३४ जना विरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र छुवाछुत विरुद्धको कसुरमा अदालतमा मुद्दा दायर भएको थियो । आरोपीमध्ये ५ जना अझैसम्म फरार छन् ।

२०७७ असार १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्