२२ असार । कोरोना संक्रमितको संख्या भारतमा तिव्र रुपमा बढेको छ । कोरोना संक्रमित संख्यामा भारतले रुसलाई पछि पारेको हो । भारत कोरोना भाइरस (कोभिड–१९) को कारण सबैभन्दा प्रभावित हुने मुलुकको सूचीमा तेस्रो स्थानमा उक्लिएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ९७ हजार ४१३ पुगेको छ । यससँगै कोरोना संक्रमित संख्यामा भारतले रुसलाई पछि पारेको हो ।
रुसमा कोरोना भाइरसका ६ लाख ८० हजार २८८ संक्रमित फेला परेका छन् । भारतमा पछिल्लो २४ घण्टामा २४ हजार २४८ नयाँ संक्रमित फेला परेका हुन् ।
भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १९ हजार ६९३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट ४२५ जनाको मृत्यु भएको छ ।
तामिलनाडुमा अहिलेसम्म एक लाख ११ हजारभन्दा धेरै संक्रमित फेला पर्दा एक हजार ५१० जनाको मृत्यु भएको छ । त्यस्तै दिल्लीमा पनि ९९ हजारभन्दा संक्रमित फेला परेका छन् भने तीन हजार ६७ जनाको मृत्यु भइसकेको छ ।
अहिलेसम्म भारतमा कोरोना भाइरसका चार लाख २४ हजार ४३३ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।
प्रतिकृया दिनुहोस्