२२ असार । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा रिक्त भएका वा हुन लागेका विभिन्न पदमा दरखास्त आव्हान गरिएको छ । विश्वविद्यालयले सोमबार एक सूचना प्रकाशन गरी १ जना रजिष्ट्रार र ४ जना डीन पदका लागि आवेदन माग गरेको हो ।
नियुक्ति प्रकृयालाई अझ बढी पारदर्शी बनाई योग्य व्यक्ति सिफारिस र नियुक्ति गर्न खुला रुपमा आवेदन माग गरिएको उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले जानकारी दिए ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन, २०६७ बमोजिम शैक्षिक प्रशासनमा विशिष्टता हासिल गरेका व्यक्तिमध्ये उपकुलपतिको सिफारिसमा कुलपति (प्रधानमन्त्री)बाट रजिष्ट्रारको नियुक्ति हुन्छ । यस्तै उपकुलपतिको अध्यक्षतामा रहने कार्यकारी परिषदले सम्बन्धित संकायका प्राध्यापक वा सह-प्राध्यापकमध्येबाट डीन नियुक्त गर्ने प्रावधान छ ।
हाल विश्वविद्यालयका मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि संकाय र शिक्षाशास्त्र संकाय प्रमुखविहीन छन् ।

प्रतिकृया दिनुहोस्