Birendranagar Municipality

‘इनफ इज इनफ’ अभियान र सरकारबीच १२ बुँदे सहमति, अनशन स्थगित

सेरोफेरो
‘इनफ इज इनफ’ अभियान र सरकारबीच १२ बुँदे सहमति, अनशन स्थगित

२३ असार । कोरोना भाइरस नियन्त्रण गर्न भएका सरकारी प्रयास कमजोर भएको भन्दै त्यसको विरोधमा युवाहरुले सञ्चालन गरेको ‘इनफ इज इनफ’ अभियान र सरकारबीच सहमति भएको छ ।

 

स्वास्थ्य मन्त्रालय र सत्याग्रही युवाबीच सोमबार १२ बुँदे सहमति भएको हो । सोही सहमति अनुसार मंगलबार बिहान इनफ इज इनफका सत्याग्रही इशान अधिकारी (इ) सहितले अनशन तोडेका छन् ।

 

सहमतिमा विदेशबाट आएका व्यक्तिलाई पाँच दिन क्वारेन्टिनमा राखेपछि मात्रै परीक्षण गरेर इच्छा अनुसार होम क्वारेन्टाइन वा होटल क्वारेन्टाइन वा सार्वजनिक क्वारेन्टाइनमा बस्ने या राख्ने व्यवस्था गरिएको छ भने होम क्वारेन्टिनको निर्देशिका हप्तादिन भित्र तयार पारिने छ ।

 

यस्तै जोखिममा रहेका सबै (लक्षण देखिएका र नदेखिएका पनि) लाई राज्यको नीति अनुसार पीसीआर परीक्षण गर्ने गरी हालको निर्देशिका हप्तादिन भित्र परिमार्जन गर्ने, आरडीटीको प्रयोग स्थगित गर्ने, क्वारेन्टिन र होल्ङ्गि सेन्टरमा समयका आधारमा छुट्याएर राख्ने व्यवस्था गर्ने, क्वारेन्टिनमा रहेकाहरुको अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ देखिए मात्रै घर पठाउने तथा समाजमा पुनःस्थापना गर्ने व्यवस्थाको कार्यविधि निर्देशिका यसै हप्ता तयार गर्नेलगायतका सहमति भएको छ ।

 

यस्तै सर्वोच्च अदालतको फैसला अनुसार परीक्षण तथा क्वारेन्टिन लगायतका विषयमा हाल जारी निर्देशिका एवम् प्रोटोकललाई परिमार्जन गर्ने पनि सहमति भएको छ ।

 

युवाहरुले कोरोना भाइरसको परीक्षण आरडिटी विधिबाट नभइ पिसिआरबाट हुनुपर्ने, क्वारेन्टिनको व्यवस्था राम्रो हुनुपर्ने, भ्रष्टाचार रोकिनुपर्ने र नागरिकको जीवन रक्षा गर्नुपर्नेसहितका माग राखेर आन्दोलन गर्दै आएका थिए ।

२०७७ असार २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्