२५ असार । अफवाह फैलाउने तथा भ्रमपूर्ण समाचार दिने अनलाइनलाई नेपाल प्रेस काउन्सिलले ठाडै बन्द गर्ने भएको छ ।
काउन्सिलले सूचना विभागमा दर्ता भएको हिमालयन दैनिक डटकम बिहीबार बन्द गरेको छ। भ्युअर्स बढाउने नाममा अफवाह फैलाउने सयभन्दा बढी अनलाइन बन्द गरिएको काउन्सिलले जनाएको छ।
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठका अनुसार अनलाइन सञ्चालन निर्देशिका २०७३ का आधारमा उक्त अनलाइन बन्द गरिएको हो । दर्ता भएका अनलाइनको हकमा स्पष्टीकरण सोध्ने तथा अन्य कारवाही गर्ने व्यवस्था भएपनि त्यसले काम नगरेको श्रेष्ठको भनाई छ ।
काउन्सिलले बिहीबार ‘मिडिया एनपीओ’ र कुन्तिपुर डट कम पनि बन्द गरेको छ । तिनले ‘दुःखद् खबर’ भन्दै भर्खरै नेपालबाट कतारका लागि उडेको जहाज दुर्घटना हुँदा ८७ को मृत्यु भएको झुठो समाचार सम्प्रेषण गरेका थिए ।
यस्तै २४अनलाइनखबर डटकम, बुद्धन्युज डटकम, डेली नेपाल डटकम, आजभोलि डटकम, कुसेन्युज डटकमलाई पनि बन्द गर्ने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए ।
आजभोली डटकमले ओलीले संसद विघटन गर्दै भनेर समाचार छापेको थियो भने कुसेन्युज डटकमले पार्टी फुटाउने तयारीमा ओली, उपाध्यक्षमा नेम्वाङ र महासचिवमा बास्कोटा भनेर समाचार छापेको थियो ।

प्रतिकृया दिनुहोस्