Birendranagar Municipality

काठमाडौंका २ सहित थप ३ जनाको कोरोनाबाट मृत्यु

सेरोफेरो
काठमाडौंका २ सहित थप ३ जनाको कोरोनाबाट मृत्यु

२७ असार । नेपालमा कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २ र सिन्धुपाल्चोकका १ जनाको कोरोनाबाट मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका १० शंखमुलका ६० वर्षीय पुरुषको असार २६ गते मृत्यु भएको हो । फोक्सोमा पानी जमेको र मृगौला रोगको कारण असार १६ गते पाटन अस्पताल भर्ना भएका ती पुरुषमा असार १७ गते स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

 

यस्तै काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षीय पुरुषको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा २५ गते मृत्यु भएको डा. गौतमले बताए । असार १९ गते अस्पताल भर्ना भएका उनी मृगौला सम्बन्धी बिरामी थिए ।

 

मन्त्रालयका अनुसार सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ वर्षीय पुरुषको पनि असार २५ गते नै निधन भएको छ । असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका उनमा २२ गते कोरोना पुष्टि भएको थियो ।

 

यस्तै पछिल्लो २४ घण्टामा ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ७ सय १९ पुगेको छ ।

२०७७ असार २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्