Birendranagar Municipality

विश्वविद्यालयको गाडी तोडफोड : आन्दोलनका अगुवा शाही विश्वविद्यालयबाट निष्काशित

विश्वविद्यालयको गाडी तोडफोड :  आन्दोलनका अगुवा शाही विश्वविद्यालयबाट निष्काशित

सेरोफेरो
२ असार, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको विस्तारित कार्यालयको कम्पाउण्डभित्र पार्किङ गरि राखेको गाडीमाथि तोडफोड गरिएको छ । आन्दोलनकारीको सानो समूहले शुक्रबार दिउँसो १ः३० बजे बा १७ च ४२५५ नम्बरको महिन्द्रा स्कारपियो जिपमाथि ढुङ्गा प्रहार गरेका थिए । तोडफोडबाट उक्त गाडीको अगाडिको शिशा फुटेको छ ।


विश्वविद्यालयका रजिष्ट्रार चढ्ने उक्त गाडीमा गरिएको तोडफोडलाई विश्वविद्यालय प्रशासनले आपराधिक कार्य भनेको छ । घटनापश्चात् बसेको विश्वविद्यालय पदाधिकारीहरुको बैठकले उक्त घटनाको निन्दा गर्नुका साथै तोडफोड कार्यमा संलग्न विद्यार्थी अनिलबहादुर शाहीलाई विश्वविद्यालयबाट निष्काशन गर्ने निर्णय गरेको सूचना अधिकारी विष्णुकुमार खड्काले सेरोफेरोलाई जानकारी दिए ।


निर्णयमा भनिएको छ–‘निज अनिलबहादुर शाही विश्वविद्यालयको विद्यार्थी समेत भएकाले विद्यार्थीलाई शोभा नदिने आपराधिक कार्य गरेको हुँदा विश्वविद्यालयबाट निष्काशन गर्नुका साथै कडाभन्दा कडा कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गर्दछौं ।’


विश्वविद्यालय प्रशासन मनोमानी ढंगले सञ्चालन भएको भन्दै संयुक्त विद्यार्थी संघर्ष समितिले जेठ २७ देखि आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएको थियो । सम्बन्धन दिने निर्णय तत्काल खारेज गर्नुपर्ने लगायतका माग राखि समितिले जेठ २९ गते विश्वविद्यालयका विभिन्न निकायमा ताला लगाएको थियो । तर, विश्वविद्यालयमै अध्ययनरत विद्यार्थीहरुको अर्को समूहको अगुवाईमा ताला तोडिएपछि आन्दोलनकारी उत्तेजित बनेका थिए ।

 

संयुक्त विद्यार्थी संघर्ष समितिले शुक्रबार बिहान भण्डाफोर कार्यक्रमको आयोजना गरी पहिलो चरणको आन्दोलनका कार्यक्रम सम्पन्न गरेको थियो । शुक्रबार दिनभरमा वार्ता संवादबाट कुनै निष्कर्ष ननिस्के थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने समितिले जनाएको थियो । विद्यार्थीसंग वार्ता गर्न विश्वविद्यालयले वार्ता टोली समेत गठन गरेको थियो ।


दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा नहुँदै विश्वविद्यालयका उपकुलपतिको निवास समेत रहेको विस्तारित कार्यालयमा भएको उक्त घटनाको सर्वत्र विरोध गरिएको छ । प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल प्रगतिशील प्राध्यापक संगठन लगायतका संघ संगठनले विज्ञप्ती निकालेर घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

२०७४ असार २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्