सीता वली
३ असार, सुर्खेत । गर्मी शुरु भए लगत्तै आँखा चिलाउने, आँखाबाट पानी बग्ने समस्याले हैरान भएपछि बाबियाचौरकी सावीत्रा अधिकारी सुर्खेत आँखा अस्पताल पुगिन् । सेवाग्राहीको भीड भएकोले उनी घन्टौंसम्म लाइनमा बस्नु पर्यो । वीरेन्द्रनगर ११ का चन्द्रबहादुर बिक आँखामा गहिरो चोट लागेपछि तत्काल आँखा अस्पताल सुर्खेतमा आए । चोट धेरैनै लागेपनि सेवा लिन लाइनमै बस्नुपर्यो ।
नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित सुर्खेत आँखा अस्पतालमा गर्मी शुरु भएसंगै आँखा चिलाउने, फुलो पर्ने, आँखा पाक्ने, भाइरल इन्फेक्सन जस्ता समस्या लिएर दैनिक भिड लाग्ने गरेको छ । अस्पतालका अनुसार दैनिक करिब दुई सय जना आँखाको समस्या ल्याएर आउँछन् ।
अस्पतालमा कार्यरत डा. नम्रता गुप्ताका अनुसार भाइरसको सिजन, फोहोर पानीको प्रयोग, घाममा हिंड्दा, खेतबारीमा काम गर्दा, धुलो पसेर आँखामा यस्ता खालका समस्या देखा पर्छन् । डा. गुप्ताका अनुसार यसबाट बच्नको लागि सफा पानीले आँखा धुने, गर्मी र धुवाँबाट आँखालाई जोगाउन चस्मा लगाउने र आँखामा समस्या देखिनासाथ तुरुन्तै अस्पताल जानुपर्छ ।
अब गर्मी लगत्तै बर्षा शुरु हुने भएकोले पानी तथा वातावरणका कारण विभिन्न समस्या आउन सक्छन् । विशेषगरी बर्षाको समयमा आँखामा फुलो पर्ने समस्या देखिन्छ । आँखा संवेदनशील अंग भएकाले यसलाई विभिन्न रोगको संक्रमणबाट जोगाउनु पर्ने उनले बताइन् । स्वस्थ आँखाका लागि गाजर, हरियो सागपात खाने तथा ‘हाइजिन मेन्टेन’ गर्नु पर्दछ ।
अस्पतालको भाषामा आँखाको उपचार सेवा ‘प्राइमरी’, ‘सेकेण्डरी’ र ‘टर्सरी’ गरी तीन प्रकारको हुन्छ । सुर्खेत आँखा अस्पताले सेकेण्डरी तहको उपचार सेवा दिइरहेको अस्पताल व्यवस्थापक घनबहादुर थापाले बताए । यो सेवा अन्तर्गत आँखाको अप्रेशन, मोतिबिन्दु उपचार, मेशिनबाट आँखाको अप्रेशन (एस.आई.सी.एस), साना अप्रेशन, ल्याकलेजर, चश्मा जाँच आदि सेवा दिंदै आएको छ ।
यसका अलावा समूदाय स्तरमा आँखा उपचार सम्बन्धि अभिमुखिकरण र उपचार सेवा निशुल्क रुपमा गरिरहेको थापाले जानकारी दिए । सार्वजिनिक विदाको दिनमा पनि दुई घण्टा अनिबार्य रुपमा सेवा दिने र सेवाग्राहीलाई फोन मार्फत सेवा दिने गरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका अनुसार सुर्खेत, दैलेख, जाजरकोट, रुकुम, सल्यान, जुम्ला, कालीकोट, डोल्पा, मुगु र हुम्ला गरी १० जिल्लाका सेवाग्राही आउने गर्छन् ।
सुर्खेत आँखा अस्पतालले आँखाको साथसाथै कानको उपचार सेवा पनि दिइरहेको छ ।
प्रतिकृया दिनुहोस्