Birendranagar Municipality

२० वर्षीय सन्दीपको क्रिकेट यात्रा, विश्वमा खेल्न बाँकी कुनै व्यावसायिक प्रतियोगिता छैन

देशसञ्चार
२० वर्षीय सन्दीपको क्रिकेट यात्रा, विश्वमा खेल्न बाँकी कुनै व्यावसायिक प्रतियोगिता छैन

१८ साउन । नेपाली क्रिकेटर सन्दीप लामिछाने २० वर्ष पूरा भएर २१ लागेका छन् ।

 

सन्दीप सन् २००० को अगष्ट २ तारिखमा स्याङ्जामा जन्मिएका थिए । सन्दीप यतिबेला क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेट खेल्न सेन्ट लुसिया पुगेका छन् । उनी केही दिनअघि मात्र त्यसतर्फ लागेका थिए। सीपिएलका लागि सन्दीपलाई जमैका तल्लावाजले ९० हजार अमेरिकी डलरमा आबद्ध गरेको छ ।

 

सन् २०१६ को अन्त्यतिर सिनियर राष्ट्रिय टोलीमा डेब्यू गरेका सन्दीपले खेल्न बाँकी विश्वका कुनै पनि ठूला व्यावसायिक क्रिकेट प्रतियोगिता छैन । उनले भारतको इन्डियन प्रिमियर लिग-आईपिएल, बंगलादेशको बंगलादेश प्रिमियर लिग-बीपिएल, अस्ट्रेलियाको बिग बास लिग, क्यारेबियन क्षेत्रको सिपिएल, क्यानडाको ग्लोबल टीट्वेन्टीलगायत खेलेका छन् ।

 

सन् २०१८ मा अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कको सम्पर्कमा पुगेका उनको त्यसयता लगातार भाग्य चम्किरहेका छ। उनी छोटो समयमा खेलेर सबैभन्दा बढी आम्दानी गर्ने नेपाली खेलाडी भइसकेका छन् ।

 

सन्दीपले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा २३, टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ३४, लिस्ट एमा ३, प्रथम श्रेणीमा ६५ र टीट्वेन्टी क्रिकेटमा एक सय पाँच विकेट लिएका छन् ।

 

उनले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा ६ विकेट लिएका छन्, १६ रन खर्चँदै । टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा ४ विकेट लिएका छन्, २० रन खर्चँदे । यसैगरि टीट्वेन्टी क्रिकेटमा चार विकेट लिएका छन्, १० रन खर्चँदै ।

 

सन् २०१६ मा आयोजित यू-१९ विश्वकप क्रिकेटमा उनी दोस्रो सर्वाधिक विकेट लिने खेलाडी भएका थिए । उनले एक खेलमा ह्याट्रिक विकेटसमेत लिएका थिए ।

 

सन्दीप आबद्ध आईपिएल क्लब दिल्ली क्यापिटल्स, चर्चित क्रिकेट न्यूज पोर्टल क्रिकइन्फो डटकमलगायतले उनको जन्मदिनमा शुभकामना दिएका छन् ।

२०७७ साउन १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्