Birendranagar Municipality

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, ४६४ संक्रमित थपिए

सेरोफेरो
नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, ४६४ संक्रमित थपिए

२३ साउन । नेपालमा कोरोना भाइरसको संक्रमणबाट शुक्रबार थप ५ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

 

पाटन अस्पतालमा २, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको कोशी अस्पताल र वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालमा १÷१ गरी ५ जनाको मृत्यु भएको हो ।


पाटन अस्पतालको आईसीयूमा सर्लाहीका ४५ वर्षीय पुरुष र रुपन्देही सुनौलीकी ४१ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको हो ।

 

सर्लाहीका पुरुषलाई कुकुरले टोकेपछि साउन १९ गते अस्पताल भर्ना भएका थिए । आईसीयूमा भर्ना भएका उनको शुक्रबार विहान ८ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।

 

यस्तै रुपन्देही, सुनौलीकी महिला पनि साउन १९ गते नै अस्पताल भर्ना भएकी थिइन् । पाठेघरको क्यान्सर र निमोनियाको समस्या रहेकी उनको उपचारका क्रममा शुक्रबार दिउँसो ११ बजेतिर मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए ।


यस्तै सिराहाको गोलबजार नगरपालिका १२ का २१ वर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको थियो ।

 

सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार मिर्गौला रोगी उनी डायलासिस सेवा लिन धरान पुगेका थिए । उनलाई केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

यसैगरी कोशी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत विराटनगर महानगरपालिका ९ का ५८ वर्षीय पुरुषमा शुक्रबार मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । उच्च रक्तचापको समस्या भएका उनलाई एक सातादेखि ज्वरो र खोकीको समस्या थियो ।

 

यस्तै वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा शुक्रबार विहान मृत्यु भएका वीरगञ्ज–३ छपकैयाका ६५ वर्षीय वृद्धको मृत्युपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।


४ सय ६४ जना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ९ सय २६ नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

 

यससँगै कुल संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ । उनीहरुमध्ये १५ हजार ८१४ जना निको भएका छन् ।

२०७७ साउन २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्