Birendranagar Municipality

चितवन मेडिकल कलेजमा जन्मियो ५ केजीको बच्चा

राजेश घिमिरे/सेताेपाटी
चितवन मेडिकल कलेजमा जन्मियो ५ केजीको बच्चा

२६ साउन । भरतपुरस्थित चितवन मेडिकल कलेजमा एक महिलाले ५ किलो ५० ग्राम तौलको बच्चालाई जन्म दिएकी छन्।

 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ शिखरपानीकी ३० वर्षीया सिता लोप्चन डिम्डुङ आइतबार स्वास्थ्य जाँचका लागि अस्पताल आइपुगेकी थिइन्। तत्कालै भिडियो एक्स-रे गर्दा बच्चाको तौल साढे ४ किलोभन्दा बढी देखिएपछि चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने निर्णय गरेका थिए।

 

सोमबार विहान करिब ९ बजे शल्यक्रियामार्फत बच्चा (छोरी) लाई जन्म दिएको अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. वसन्त शर्माले जानकारी दिए। डा. वन्दना खनाल, डा. प्रेक्षा सिंह र डा. रेनुका ताम्राकारसहितको टोलीले शल्यक्रिया गरेको थियो।

डा. शर्माकाअनुसार भिडियो एक्स–रे गर्दा साढे ४ किलो भन्दा बढी तौलको बच्चा देखिए शल्यक्रिया गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ। आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो छ।

करिब ५ वर्षदेखि उक्त अस्पतालमा काम गर्दै आएका डा. शर्माले यति धेरै तौलको बच्चा अहिलेसम्म नदेखेको बताए। ‘यसअघि ४ किलो आठ सय ग्रामसम्मका बच्चा त देखेको हो तर ५ किलो भन्दा बढी तौल भएको बच्चा त पहिलो पटक देखियो’, उनले भने।

 

नेपालमा सामान्यतया बच्चा ठूलो जन्मनुको कारण वंशाणुगत देखिएको डा. शर्माले बताए । ‘यद्यपी मधुमेहलगायतका समस्याका कारण पनि बच्चाको तौल बढी हुनसक्छ’, उनले भने।

 

यी महिलाको भने वंशाणुगत तथा शारीरिक अवस्थाका कारण ठूलो बच्चा जन्मिएको उनको भनाइ छ। उनको तौल ११० किलो र उचाई ५ दशमलव ६ फिट छ।

तेस्रो सन्तानको जन्म दिएकी सिताको पहिलो बच्चा ११ वर्षका छन्। उनी जन्मिदा ४ किलो १ सय ग्रामका थिए। दोस्रो बच्चा ४ किलो ९ सय ग्रामको जन्मिए। अघिल्ला दुवै बच्चा अपरेशन नगरी जन्मिएका थिए।

श्रीमतीलाई लिएर स्वास्थ्य जाँचका लागि हेटौंडा अस्पताल पुगेका श्रीमान लालबहादुर डिम्डुङले उक्त अस्पतालले भरतपुर रिफर गरेको बताए।

२०७७ साउन २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्