२८ साउन । आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइदै छ । हरेक वर्ष अगष्ट १२ को दिनलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने गरिन्छ ।
राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विश्व अभियानका लागि युवा सहभागिता स् रोजगारी प्रवर्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने मूल नाराका साथ आज विभिन्न कार्यक्रम गरी देशभर मनाइदै छ । यस बर्ष कोरोना भाइरस (कोभिड १९) को कारणले वृहत कार्यक्रम नगरी भर्चुअल कार्यक्रम गर्न थालिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।
परिषद्को आयोजनामा युवा दिवस २०२० को कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमा उद्घाटन गर्ने कार्यक्रम समेत रहेको युवा परिषद्ले जानकारी दिएको छ ।
राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालको कूल जनसङ्ख्यामध्ये ४०.३ प्रतिशत युवा रहेका छन् । नेपालमा युवा साक्षरता ७१ प्रतिशत, युवा स्वरोजगारको अवस्था ५८.८ प्रतिशत, कृषिमा संलग्न युवा ५०.५ प्रतिशत, बेरोजगार स्नातक युवा २६.१ प्रतिशत रहेका छन् भने प्रतिवर्ष पाँच लाख १५ हजार युवा श्रम बजारमा प्रवेश गर्छन् ।
युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ (यस बर्ष साउन २८) लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।
हरेक वर्ष विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवस मनाउन थालिएको आयोनका अध्यक्ष जगदिश ऐरले जानकारी दिनुभयो ।
राष्ट्रिय युवा परिषद् तथा नेपाल युवा संस्था (आयोन) जस्ता संस्थाहरुले देशभरका युवाहरुलाई लक्षित गरि विभिन्न कार्यक्रम संचालन गर्देछन् ।
प्रतिकृया दिनुहोस्