Birendranagar Municipality

समाचार लेखेकै कारण पक्राउ गरिएका दुई पत्रकार अझै थुनामा, आज नछोडे भोली देखी देशव्यापी आन्दोलन गर्छौं : महासंघ

समाचार लेखेकै कारण पक्राउ गरिएका दुई पत्रकार अझै थुनामा, आज नछोडे भोली देखी देशव्यापी आन्दोलन गर्छौं :  महासंघ

सेरोफेरो
४ असार, महेन्द्रनगर । समाचार लेखेकै कारण पक्राउ गरिएका पत्रकार खेम भण्डारी र गणेश भट्टलाई प्रहरीले अझै रिहा गरेको छैन । महेन्द्रनगरबाट प्रकाशित मानसखण्ड दैनिकका प्रकाशक तथा सम्पादक भण्डारी र कार्यकारी सम्पादक भट्टलाई प्रहरीले सार्वजनिक अपराध गरेको आरोपमा अनुसन्धानका लागि भन्दै शनिबार कार्यालयबाटै पक्राउ गरेको हो ।  


पक्राउ परे लगत्तै कञ्चनपुरमा प्रहरी र प्रशासनलाई भेटेर स-सम्मान रिहाईको लागि प्रयास गरेपनि रिहाइ नगरिएपछि पत्रकारहरु आइतबार धर्नामा बसेका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाह र कञ्चनपुर शाखाको नेतृत्वमा कार्यालय समय सुरु हुनुअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पत्रकारहरुले बिहानैदेखि धर्ना सुरु गरेका हुन् । पत्रकारहरु धर्नामा बसेपछि असार १४ मा हुने स्थानिय तहको दोस्रो चरणको निर्वाचनको उम्मेदवारी दर्ताको समाचार संकलन कार्य समेत प्रभावित भएको ।


पत्रकार भण्डारी र भट्टलाई रिहा नगरेसम्म आन्दोलन जारी रहने महासंघका सुदूरपश्चिम संयोजक शाहले सेरोफेरोलाई जानकारी दिए । ‘आज साँझ सम्म रिहाई नगरे महासंघले देशव्यापी रुपमा विरोधका कार्यक्रमहरु गर्छ ।’ पत्रिकाका गुनासाहरु सिधै अदालत वा प्रेस काउन्सिल नेपालमा जाने बाटो हुँदाहुँदै प्रहरीले यसरी अनुसन्धानको निहुँमा पक्राउ गर्नुलाई सुनियोजित हो कि भन्ने शंका समेत उत्पन्न गराएको छ ।


‘प्रहरीले हामीलाई झुक्याइरहेको छ, भेट तथा फोनमा तत्कालै छोड्छौं भनेपनि अहिले सम्म छोडेको छैन’ शाहले भने । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धको यो घटनाले जनताको सुसूचित हुने अधिकारको समेत हनन गरेको पत्रकारहरुको ठहर छ ।


कञ्चनपुरमा लामो समय पत्रकारितामा रहेका भण्डारी न्यूनतम् पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष समेत हुन् । उनले मानसखण्ड दैनिक र रेडियो महाकालीमार्फत कञ्चनपुरमा प्रहरीका विषयमा निरन्तर समाचार सम्प्रेषण गर्दै आएका थिए ।


यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भिम प्रसाद दाहालले भण्डारी र भट्टको नाममा पीडितले जाहेरी दिएपछि पक्राउ गरिएको बताए । ‘केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को दफा २ को उपदफा ञ अनुसार उहाँहरुलाई पक्राउ गरेको र उजुरी कानूनी प्रक्रियामा अगाडी बढीसकेको छ । उनले भने ।’

२०७४ असार ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्