३० साउन । सत्तारुढ दल नेकपाभित्र देखिएको गतिरोध अन्त्य गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ। विवाद समाधान कार्यदललाई यथाशिघ्र सहमतिको खाका तयार पार्ने जिम्मेवारी दिइएको छ।
अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफलपछि विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन गरिएको हो।
कार्यदलमा ओली पक्षबाट महासचिव पौडेल र शंखर पोखरेल रहेका छन् भने अर्का अध्यक्ष प्रचण्ड पक्षबाट जर्नादन शर्मा र पम्फा भुषाल सदस्य छन् । यस्तै वरिष्ठ नेता मावधकुमार नेपाल पक्षबाट नेता डा. भीम रावल र सुरेन्द्र पाण्डे रहेका छन्।
दुई अध्यक्षकै छलफलबाट निकास दिनुपर्ने बताउँदै आए पनि प्रचण्ड सहमत नभएपछि नेपाल पक्षको समेत समान हैसियत रहने गरी कार्यदल बनाउन अध्यक्ष ओली तयार भएका हुन्।
बिहीबार भएको छलफलमा ओलीले दाहाललाई अझ कार्यकारी अधिकार दिने, केन्द्रीय कमिटिलाई महाधिवेशन आयोजनक कमिटिमा रुपान्तरण गर्ने, आउँदो चैतमा महाधिवेशन गर्ने, आफूलाई पूरा कार्यकाल प्रधानमन्त्री बनाउनुपर्ने लगायतका प्रस्ताव पेश गरेका थिए।
असार १० गते सुरु भएको स्थायी समिति बैठकमा दाहाल नेपाल पक्षले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन दबाब दिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।
असार १८ गतेदेखि स्थगित हुँदै आएको स्थायी समिति बैठक साउन १३ गते ओलीले एक पक्षीय रुपमा स्थगित गरेपछि अनिश्चित हुँदै आएको छ। ओलीले दुवै पदबाट राजीनामा नदिने अडान राखिरहेका छन् भने दाहाल नेपाल उनलाई प्रधानमन्त्री पदबाट हटाउने रणनीतिबाट अझै पछि हटेका छैनन्।
प्रतिकृया दिनुहोस्