Birendranagar Municipality

सुर्खेतकी ‘झापुली’लाई ओखलढुङ्गाबाट ‘चाउरी’को चिठी

सेरोफेरो
५ असार, सुर्खेत । पोकली गाविसमा सुर्खेतबाट ‘मिस’ आएको थाहा पाउनासाथ चाउरीको मनमा छुट्टै खुशी छायो । ‘माइती गाउँको कुकुर पनि प्यारो’ भन्छन् । माइती गाउँको मान्छे भनेपछि मन हुरुक्क नहुने कुरै भएन । कतिबेला भेटौं–भटौं भयो । घरको काम मिलाएर चाउरी सुर्खेतकी मिसलाई भेट्न पोकली गाविस वडा नम्बर २ स्थित एक कार्यक्रममा पुगिन् ।


जागिरको लागि ओखलढुङ्गा पुगेकी तिला वलीसंग भेट्नासाथ चाउरीले भनिन् ‘सुर्खेतको भनेपछि भेट्न मन लाग्यो ।’ सामान्य कुराकानीपछि फेरी भेट्ने बाचा गर्दै घरतिर लागिन् । भोलिपल्ट कार्यक्रममा तिलाको हातमा चिठी थमाउँदै आफ्नो माइती भेट्टाइदिन विनम्र आग्रह गरिन् ।


माइतीसंगको सम्पर्क टुटेपछि घरपरिवार र गाउँमा एक्लिएको महशुस हुन्छ उनलाई । घरकाले पनि माइती नभएकी ‘चेली’ झैं सोच्छन् कि जस्तो लाग्छ चाउरीलाई । माइतीहरुले कतै बसाईंसराईं गरेको भए छिमेकी मार्फत पनि माइतीको ठेगाना पत्ता लाग्ने उनको आशा छ । ठूली दिदी झापुलीको दैलेख बिहे भएको भन्ने सम्म थाहा छ उनलाई । तर दैलेख कुन ठाउँ हो भन्ने थाहा छैन ।

 

भारतको हरियाणामा आमा–बुबासंग बस्दा ओखलढुङ्गाका सुशील मगरातीसंग चाउरीको भेट भयो । ‘ठ्याक्कै कति वर्षको थिएँ थाहा छैन । दुबैको मन मिल्यो । भागेर बिहे गरेँ । त्यसपछि माइतीसंगको सम्पर्क टुट्यो ।’ बिहेपछि माइतीले सोधखोज गरे गरेनन् उनलाई पत्तो पनि भएन ।

 

माइतीको याद आउँदा कहिले काहीं सुर्खेत हिडौं जस्तो नलागेको पनि होइन चाउरीलाई । सानै उमेरमा जिल्ला छाडेकोले चिनजान पनि कोहीसंग छैन । आउने जाने खर्चको अभाव उस्तै । हराउँछुकि भन्ने चिन्ता झन् ठूलो । ‘सानैमा बिवाह गर्दा माइती भएर पनि एक्लिनुको पीडा भोग्दैछु’, चाउरीले भनिन् ।

 

करिब ६ वर्षदेखि माइती पक्षसंग सम्पर्क बिहीन बनेकी चाउरी विकले सुर्खेत खोर्के खोलाको ठेगानामा आफ्नी दिदी झापुलीलाई ओखलढुङ्गाबाट चिठी पठाएकी छन् ।

 

सुर्खेतको खोर्के खोला बस्तिमा जन्मिएकी चाउरी ६ वर्षको उमेरमा आमा–बुवासंग भारतको हरियाणा गएकी थिइन् । ‘पहिला हरियाणामा बस्ने आमा बुबासंग सम्पर्क थियो । ६ वर्ष भयो कसैसंग पनि सम्पर्क भएको छैन ।’

 

२२ बर्षकी चाउरीका दुई बच्चा छन् । श्रीमान् गाउँमै मिस्त्रीको काम गर्छन् । आमा जलु विक र बुबा चौरे विकबाट जन्मिएका ४ छोराछोरी मध्ये चाउरी कान्छि हुन् । उनका दिदीहरु झापुली र काली हुन् भने दाईको नाम ख्यामे विक हो । माइतीबाट टाढा हुँदा आफूलाई एक्लो महसुस भएकोले आफ्नो आफन्तलाई चिन्ने व्यक्तिलाई आफ्नो नम्बर दिइ सम्पर्क गराइदिनको लागि चाउरीले आग्रह गरेकी छन् ।

चाउरीको चिठी

Chauri

 

२०७४ असार ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्