७ असार, सुर्खेत । सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइराला सोमबार साँझ बुलबुले उद्यानमा त्यहाँ कार्यरत कर्मचारीलाई निर्देशन दिइरहेका भेटिए । उनीसंगै थिए पूर्व सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानी, नेपाली कांग्रेस सुर्खेत जिल्ला कार्यसमितिका सभापति कमलराज रेग्मी र विकास समितिका अन्य सदस्यहरु । कर्मचारीलाई उनी भन्दै थिए- ‘बुलबुलेलाई राम्रो बनाउन बाङ्गो रुख काट्न परे वा कुनै फूलको विरुवा उखेल्न परे मलाई सोधिरहन पर्दैन ।’
बच्चासहित बुलबुलेमा पानी लिन जाँदै स्थानीय ।
पिउने पानी भर्ने पाइप मिलाइंदै ।
मन्त्री थानी सुर्खेतबासी समेत भएकोले पनि हाेला बुलबुलेलाई आकर्षक बनाउन कुनै कसर बाँकी नराख्न अध्यक्ष कोइरालालाई सुझाउँदै थिए । अध्यक्ष कोइरालाले सेरोफेरोसंग भने, ‘अब बुलबुलेमा एउटा गुलाव बगैंचा बनाउने, सबै रुख विरुवामा तिनको नाम लेखेर टाँस्ने, बुलबुले क्षेत्रको प्रभावकारी रुपमा तारबार गर्ने, धाराहरु व्यवस्थित गर्ने, प्लाष्टिक मुक्त क्षेत्र बनाउने, चिल्ड्रेन पार्क बनाउने, दुबो तथा फूलहरु लगाई पार्कको आकर्षण थप्ने योजना थालिइसकेको छ ।’ उनका अनुसार बुलबुले ताल भन्दा तल रहेको ठुलाे तालको क्षेत्रफल बढाउने, पार्कको वरीपरि ‘मर्निङ वाल्क’ गर्न मिल्ने बाटो बनाउने लगाएतका योजना पनि सुरु गर्ने उनले बताए ।
समितिकाे निर्दैशनमा छाँटिएका कपुरका रूख ।
पार्टी सभापति रेग्मीले जथाभावि फोहोर जलाएर पार्कको सुन्दरतालाई असर नपुर्याउन कर्मचारीलाई आग्रह गरे । सुर्खेतमा काम गर्ने विभिन्न गैरसरकारी संस्थाहरुलाई बुलबुले उद्यानका लागि समेत केही काम गर्न अनुरोध गर्नुपर्नेमा पनि उनले जोड दिए । नगर विकास समिति मात्र हैन सबै निकायले पहल गरेमा बुलबुलेलाई सुर्खेतको पर्यटकीय केन्द्र बनाउन सकिने उनको विश्वास छ ।
दुबो लगाउनको लागि तयार गरिएको क्षेत्र अबलोकन गर्दै अध्यक्ष काेइरालालगायतकाे टाेली ।
पूर्व मन्त्री थानीले बुलबुले ताल तत्काल सफा गर्न पनि निर्देशन दिए । ‘सफा गरेलगत्तै तालको भित्तामा रङ पनि लगाउनु’ उनले भने । नगर विकास समितिका सदस्य रमेश सापकोटाले आफ्नो कार्यकालमा बुलबुलेलाई नमूना बनाउने लक्ष्य रहेको बताए । छिटपुट रुपमा हुने सामान्य चोरी, अराजक गतिविधि तथा पार्क भित्र हुने अन्य समस्यालाई कम गर्न सुरक्षा निकायका व्यक्ति राख्ने कि नराख्ने भन्ने सन्दर्भमा छलफल भइरहेको पनि समितिले जनाएको छ ।
नयाँ छानो हालिएको प्रतिक्षालय ।
टिकट काउन्टर मुख्य प्रवेशद्वारभन्दा धेरै भित्र भएको कारण कतिपय स्थानीयले टिकट काट्न नमान्ने, उल्टै थर्काउने गरेको कर्मचारीको गुनासो छ । बुलबुले पार्क भित्र मोटरसाइकल लैजान बन्देज छ तर स्थानीय युवाले पार्कभित्रै ‘स्टन्ट’ समेत देखाइरहेका छन् । यसलाई रोक्नको लागि नीतिगत प्रयास थाल्नुका साथै पार्किङ स्थल र टिकट काउन्टर बाहिर बनाइउने समितिको योजना छ ।
गुलाव बगैंचा बनाउने स्थल देखाउँदै समितिका अध्यक्ष कोइराला ।
बुलबुले उद्यान भित्र कर्मचारीकै परिवारले सुरु गरेका दुई किराना पसल र एउटा खाजा घर पनि अब हटाइने भएको छ । यसका साथै वनभोजका लागि पनि व्यवस्थित स्थलहरु एकैस्थानमा तयार गरिनुका साथै मर्मत तथा सम्भार गरि बुलबुलेको रुप परिवर्तन गरिने समितिले जनाएको छ ।
तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको प्रतिक्षालय हेर्दै टाेली ।
व्यवस्थित बनाइने हालकाे चिल्ड्रेन पार्क ।
तालको क्षेत्रफल बढाउने सन्दर्भमा चासो राख्दै पूर्व मन्त्री थानी
बुलबुले तालको सरसफाइको लागि निर्देशन दिंदै टाेली ।
प्रतिकृया दिनुहोस्