Birendranagar Municipality

गाडीको ठक्करबाट आमाको मृत्यु, छोराछोरीको बिचल्ली

गाडीको ठक्करबाट आमाको मृत्यु, छोराछोरीको बिचल्ली

सेरोफेरो
१२ असार, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ स्थित तीनकुने चोकमा पर्ने राजमार्गमा शुक्रबार साँझ साढे सात बजे बसले ठक्कर दिँदा मृत्यु भएकी पार्वती दमाईका छोराछोरीको बिचल्ली भएको छ ।


सामान्य मजदुरी गरेर परिवारको गुजारा चलाइरहेकी पार्वतीको मृत्युपछि उनका दुई छोरा र एक छोरी बिचल्लीमा परेको छन् । शुक्रबार काम गरेर घर फर्कंदै गर्दा काठमाडौंबाट आएको ना ५ ख १८२० नम्बरको बसले उनलाई ठक्कर दिएको थियो । उनका श्रीमान धर्म दमाई बिदेशमा गाडी दुर्घटनामा परी अस्वस्थ छन् ।


हाल बच्चाबच्ची हजुर आमासंग छन् । ऐलानी जग्गामा बसोबास गर्दै आएका उनीहरुको आयआर्जनको बाटो केही छैन । वीरेन्द्रनगर वडा नम्बर १२ का अध्यक्ष लोकप्रसाद चालिसे केही स्थानीय सहित पार्वतीको मुद्दा लिएर आइतबार वीरेन्द्रनगरको उपमेयरको कार्यकक्षमा पुगेका थिए ।

 

बस व्यवसायी समितिले निमानुसार मृतकको परिवारलाई क्षतिपुर्ति दिने भनेतापनि तीन जना बच्चाको पालन पोषण तथा शिक्षामा सरोकारवालाले जिम्मा लिनुपर्ने भन्दै आइतबार साँझ सम्म आफन्तले लाश बुझेका थिएनन् । चार दिन देखि क्षेत्रीय अस्पताल कालागाउँमा रहेको लाश अन्त्येष्टिका लागि सोमबार बिहान आफन्तले बुझेका छन् ।


मृतक पार्वतीका ९ वर्षको छोरा राजन, ४ वर्षकी छोरी भावना र ३ वर्षको छोरा पारस दमाई छन् । ‘पार्वतीले दिनभर ज्यालादारी गरेर कान्छो छोरा र छोरीलाई मन्टेश्वरीमा पढाइरहेकी थिइन् । बुवा अस्वस्थ छन् । अब बच्चाबच्चीलाई समस्या हुनेभयो ।’ छिमेकी ज्योति विकले सेरोफेरोसंग भनिन् ।


उनीहरुको पालन पोषण तथा शिक्षाको लागि आफूहरुले सरोकारवालालाई अनुरोध गरेको वडा अध्यक्ष चालिसेले बताए । यस विषयमा एसओएसका निमित्त निर्देशक सुशीलमणि ज्ञवालीसंगको कुरा उद्धृत गर्दै नगरपालिका वडा नम्बर ६ का अध्यक्ष निलकण्ठ खनालले भने ‘एसओएसले बुझ्ने बच्चालाई बालग्राममा राख्न नसकिने बरु आवश्यकता अनुसार पालन, पोषण तथा पढाइमा सहयोग गर्न सकिन्छ ।’


हजुरआमा लालकली दमाईले आफ्ना नाति नातिनाको भविष्यको लागि सहयोग गर्न सबैलाई आग्रह गरेकी छन् ।

IMG_4628

 

२०७४ असार १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्