Birendranagar Municipality

'शान' देखाउँदा हुन्छ दुर्व्यसनी

'शान' देखाउँदा हुन्छ दुर्व्यसनी

सेरोफेरो

१२ असार, सुर्खेत । म्याङ्लुङ बजारको बीचमै पर्छ श्री सिंहबाहिनी मावि । कक्षा ८, ९ र १० मा पढ्ने केटालाई कसले के भन्ने ? मास्टर पनि डराउनुपर्ने । एउटा घण्टी पढेपछि विद्यार्थीलाई पिशाब लागेजस्तो हुन्थ्यो । तीन चार जना उरन्ठेउला केटाको ग्याङ थियो । उनीहरु खुरुरु दौडेर शौचालय जान्थे । खल्तीबाट सलाई निकालेर झर्र आगो बाल्थे । ओठले बिंडी च्याप्थे र सल्काउँथे । सर्र धुवाँको सर्को उडाउँथे । पालैपालो सबैले तान्थे र कक्षामा जान्थे । यो क्रम प्रायः सधैं चल्थ्यो ।

 

त्यही माविमा कक्षा ८ मा एउटा केटो पढ्थ्यो महेन्द्र प्रसाद गुरागाईं । जो सधैं ती केटाहरुसंगै पिशाब फेर्न जान्थ्यो । अब यसले हेडसरलाई कुरा लगाउँछ भन्ने डरले साथीले उसको हातमा पनि बिंडी थमाईदिए । पहिला पहिला त तितो लाग्यो तर विस्तारै संगत र विंडी दुबै मिठो लाग्न थाल्यो । लहैलहैमा आफै विंडी किनेर खाने पो भइयो त वा । एकदिन गुरागाईंले आफैलाई सम्झाए । धत् यो त गलत बाटो पो हो । पछि उनले कहिलेसम्म बिंडी ताने त्यो त एकीन भएन तर पढाईको लतले उनलाई नेपाल सरकारको सचिवसम्म बनायो । गुरागाईं हाल क्षेत्रीय प्रशासक छन् ।

 

उनै गुरागाईं सोमबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि बने । कार्यक्रम थियो लागू औषध दुरुपयोग तथा अबैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस । जिल्ला प्रशासन कार्यालय सुर्खेतको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा गुरागाईंले भने– ‘खास कुरा किन लुकाउनु भनेर मैले मेरै कुरा गरेको हो ।’ उमेर पुगेका युवा कुलतमा फस्न सक्ने संभावना जहाँतहीं रहन्छ । जसका लागि निगरानी गर्नु आवश्यक छ । एक निकायले अर्को निकायलाई दोष लगाउँदैमा यो समस्या समाधान हुँदैन । उनका अनुसार लागू औषध दुर्व्यसनीका तीन आयाम छन् । रोग, सामाजिक प्रतिष्ठा र अपराध । दुर्व्यसनीबाट रोक्न बालबालिकालाई माया र निगरानी गर्नुपर्ने उनी बताउँछन् ।

 

प्रमुख जिल्ला अधिकारी महादेव पन्थले यो साझा समस्या भएकोले कुनै एउटा मात्रै निकायले यसलाई नियन्त्रण गर्न नसकिने बताउँछन् ।

 

जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी अमृत लम्सालले सुर्खेतमा लागूपदार्थको उत्पादन, ओसारपसार र उपभोग हुने गरेको पाइएकोले यसको रोकथामका लागि समयमै पहल गर्नुपर्ने बताए ।

 

जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहका अनुसार माया नपाएका बालबालिकाले खुशी खोज्ने क्रममा कुलतमा फस्ने पाइएको तथा उनीहरुलाई गाली गरेर होइन माया दिएरै सुधार्न सकिने बताए ।

 

वीरेन्द्रनगरकी उपमेयर मोहनमाया ढकालले भनिन्– ‘राजनीतिक दलले भोटका लागि र राज्य प्रशासनले नोटका लागि युवाको शोषण गर्दासम्म यो समस्या रहिरहन्छ ।’

 

वीरेन्द्रनगर ५ की १८ बर्षीय शारदा शाहीलाई पनि यी सबै कुरा थाह छ । उनी देउती टेक्निकल इन्स्टिच्युटमा ल्याव असिस्टेन्ट पढ्दैछन् । उनले भनिन् लागू औषध सेवनका फाइदा भन्दा बेफाइदा बढि छन् तर पनि देखासिकी, शान देखाउन, मनोरञ्जनका लागि, स्वाद थाहा पाउन अथवा तनाव मुक्त गर्न लागू औषध सेवन गर्ने गरेको पाइन्छ । शाहीका अनुसार लागूपदार्थ सेवन गर्नेमा केटीभन्दा केटा धेरै रहेका छन् ।

 

विष्णु थापा, १८ का अनुसार धनी बाबुआमाका छोराछोरी, अभिभावकले बुझ्न नसकेका कारण तथा जनचेतनाको कमीले पनि दुर्व्यसनी बढेको छ । थापाका अनुसार यसको नियन्त्रणका लागि अभिभावकले पनि आफ्ना छोराछोरीलाई साथी समान व्यवहार गर्नुपर्ने, आफूले पनि नखाने र उनीहरुलाई विश्वास गर्न सक्नुपर्छ । उनले भनिन्– ‘चोरी, डकैती, गुण्डागर्दी पनि दुर्व्यसनीका कारण बढ्छ ।’

 

भैरव युवा सशक्तिकरण केन्द्रका ललीत भट्टराई भन्छन्– ‘दुर्व्यसनी एक प्रकारको रोग हो र यसको उपचार संभव छ । तर, रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु वेश ।’

२०७४ असार १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्