मेरो जन्म १९९७ साल माघ १० गते रावतकोट ६ दैलेखमा भएको हो । आमा मातादेवी थापा र बुवा मनविर थापाको म कान्छो छोरा । मैले बुवाको माया कस्तो हुन्छ महशुस गर्न पाइन । सात वर्षको हुँदा बुवाको मृत्यु भएको हो ।
आमाले धेरै दुःख कष्ट गरेर जेनतेन हामी तीन भाई बहिनीलाई हुर्काउनुभयो । मलाई पढ्न सार्है रहर लाग्थ्यो । तर पढ्नको लागी कापी कलमको अभाव हुन्थ्यो । म साथीहरु पढेको बेलामा सुनेर शिक्षा लिन्थें तर लेख्न सक्ने क्षमता थिएन । मेरो पढाईप्रतिको लगाव देखेर एकजना आफन्तले विद्यालय भर्ना गरिदिनुभयो । वहाँलाई सम्झेर अहिले पनि बेलाबेलामा रुन्छु ।
उतिबेला अहिलेको जस्तो कक्षा प्रणाली थिएन व्यवहारिक शिक्षा थियो । सामान्य लेखपढ गरेको व्यक्तिमा पनि तमसुक, निवेदन लेख्न र झगडा मिलाउन सक्ने क्षमता हुन्थ्यो । त्यसैले मलाई दुल्लु राज्यमा वहीदारको रुपमा काम गर्ने अवसर मिल्यो । मेरी आमा सार्है खुसी हुनुभयो ।
बाल्यकालदेखि नै मेरो स्वभाव दयालु थियो । विशेष गरी बृद्ध र बालबालिकाको सेवा गर्न मलाई राम्रो लाग्छ । म अलि चञ्चल स्वभावको पनि थिएँ । स्कूल पढ्दा साथीहरुले स्याउलामुनि लुकाएका रोटी चोरेर खुब खाइयो । त्यो मेरो चञ्चलता मात्र नभएर बाध्यता पनि थियो ।
२०१५ देखि २०१८ सालसम्म वहीदारको काम गरेँ । तीन वर्षको अवधि पुरा भएपछि फेरी गरिबी शुरु भयो । घरको गरिबीकै कारण २०१८ सालमा म कामका लागि भारत पसें । करिब नौ वर्ष भारतमा बिताएपछि २०२६ सालमा म फर्किएं र वीरेन्द्रनगरमा जग्गा किनें । त्यसयता सुर्खेतमै बस्दै आएको छु । म कहिल्यै पनि खाली बस्दिनथें । २०२७ सालदेखि मैले मालपोत कार्यालय सुर्खेतमा लेखापढी काम गर्दै आएको छु । अहिले पनि कहिलेकाहीं लेखापढी काम गर्छु तर जेष्ठ नागरिक केन्द्रलाई नै बढि समय दिन्छु ।
२०३९ सालमा पञ्चायतको तर्फबाट विरेन्द्रनगर ९ बाट वडा अध्यक्ष जितें । पाँच वर्षको कार्यकाल पछि २०४४ सालमा फेरी विरेन्द्रनगर ९ बाटै प्रधानपञ्चको उम्मेदवार भएँ,तर हारें ।
काम गर्दागर्दै उमेर ढल्कंदै गएको पत्तै पान । आफू पनि बृद्ध भएको हुनाले बृद्धहरुका लागि केही गर्ने भावना मेरो मनमा जाग्यो । २०६८ सालमा वडाभेला गरी त्यसबाट तदर्थ समिति गठन गरी जेष्ठ नागरिकका लागि काम गर्ने एउटा संस्था दर्ता गरियो । कांक्रेविहार जेष्ठ नागरिक केन्द्रका नाममा जिल्ला प्रशासन कार्यालय सुर्खेत र समाज कल्याण परिषद्मा मेरै अध्यक्षतामा यो संस्था दर्ता छ । स्थापनाकालदेखिनै म यो संस्थाको अध्यक्ष भएर काम गर्दै आएको छु ।
समाजमा जेष्ठ नागरिकलाई बोझको रुपमा होइन मार्गदर्शकको रुपमा लिनुपर्दछ भन्दै जेष्ठ नागरिकले जानेका सीप र क्षमतालाई उजागर गर्ने र संरक्षण गर्नको लागि विभिन्न सीपमुलक तालिम, सचेतना, अन्तरक्रियात्मक कार्यक्रम, अभिमुखीकरण कार्यक्रमहरु काँक्रेविहार जेष्ठ नागरिक केन्द्रले गर्दै आएको छ ।
जेष्ठ नागरिक इतिहासका पाना र समाजका ऐना हुन् । उनीहरुका अनुभवका आधारमा समाजलाई दिशानिर्देश गर्न सकिन्छ । उनीहरुलाई माया, ममता, स्नेह, सम्मान र सेवा गर्नुु पर्दछ । तर वर्तमान समयमा छोरा छोरीहरु आफ्ना आमा बाबुलाई बोझको रुपमा लिन्छन् र बृद्वाश्रममा लगेर छोडिदिन्छन् । जीवनभर छोरा छोरीका लागि दुःख गर्यो तर बुढेसकालमा आफ्नो लागि दुःख गर्न छोरा छोरी मान्दैनन् ।
आखिर आजका छोरा छोरी भोलिका तिनै जेष्ठ नागरिक हुन । यो देखर मलाई अचम्म लाग्छ । आफ्ना आमा बाबु भएको भए कति माया र सम्मान दिन्थें जस्तो लाग्छ । आफ्ना आमा बाबुको सेवा गर्न नपाएकोले जेष्ठ नागरिक केन्द्र स्थापना गरेरै भएपनि मैले जेष्ठ नागरिकलाई सेवा गर्ने इच्छा पुरा गरेको छु ।
आफैले जन्माएका छोरा छोरीले त आफ्ना बाबुआमालाई सम्मान र माया दिन सक्दैनन् भने अरुले कस्तो व्यवहार गर्लान् ? मेरो प्रश्न आम छोरा, बुहारी र छोरी, ज्वाईंलाई छ । तर मलाई यो समस्या भने छैन । मेरा चार छोरा छोरी छन् । मैले बृद्धलाई सम्मान र माया दिनुपर्छ भन्ने संस्कार सिकाएको छु ।
जिल्ला विकास समिति, नगरपालिका र समाज कल्याण मन्त्रालयबाट केही रकम सहयोग बाहेक मैले अन्य निकायबाट नागरिक केन्द्रका लागि सहयोग पाएको छैन । मेरो दैनिकी भनेको नागरिक केन्द्र नै हो । म विहान उठे देखि बेलुकी सुत्ने बेलासम्म जेष्ठ नागरिक केन्द्रका लागि केही न केही काम गर्छु ।
फुर्सदको समयमा पत्रपत्रिका पढ्छु र कहिले काहीं बृद्ध आमा बुवासंग बसेर भजन कृतन गरेर रमाइलो पनि गरिन्छ । जेष्ठ नागरिकमा पनि केटाकेटीपन हुन्छ । उनीहरुलाई बच्चालाई जस्तै सेवा र माया गर्नुपर्छ । खान पानमा विशेष ध्यान दिनुपर्छ ।
आम जेष्ठ नागरिकलाई मेरो सुझाव के छ भने, आफूलाई कमजोर नठानी, आफूलाई भएको समस्या आफ्ना छोरा छोरीलाई भन्ने र उनीहरुको व्यस्ततालाई पनि बुझिदिनु पर्छ । म ७७ वर्षको भएं तर मलाई जेष्ठको अगुवा भएर हिंड्दा अझै तन्नेरी छु जस्तो लाग्छ । जेष्ठ नागरिकका लागि अझै धेरै काम गर्न बाँकी छ ।
आफ्ना आमा बाबुलाई घरमै माया दिएर राख्ने वातावरण बनाउन कांक्रेविहार जेष्ठ नागरिक केन्द्रले पहल गर्नेछ । यसको लागि अबको रणनीति आमा बाबु र छोरा छोरी दुबैलाई संगै राखेर अन्तरक्रिया गर्ने योजना छ । म बाँचुञ्जेल जेष्ठ नागरिककै लागि काम गर्छु । मेरो स्वास्थ्य अबस्था त्यति राम्रो छैन । दम छ । प्रेसर पनि हाई छ । तर पनि म यस संस्थाको लागि हरबखत काम गर्छु ।
(प्रस्तोता : सीता वली)
प्रतिकृया दिनुहोस्