Birendranagar Municipality

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह सम्पन्न

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह सम्पन्न

सेरोफेरो
१९ असार, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह आज सम्पन्न भएको छ । सम्माननीय प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको उपस्थितिमा सोमबार उक्त समारोह सुर्खेतमा सम्पन्न भएको हो ।


विश्वविद्यालयको केन्द्रीय कार्यालय कुइनेपानी परिसरमा आयोजित उक्त समारोहमा स्नातक तथा स्नातकोत्तर तह पूरा गरेका विभिन्न संकायका ३१५ विद्यार्थीहरु सहभागी भएका थिए । अध्ययन पूरा गरेका तर समारोहमा अनुपस्थित समेत गरी कुल चार सय ४५ जना दीक्षित भएको विश्वविद्यालयका परीक्षा व्यवस्थापन प्रमुख खेमराज रावतले सेरोफेरोलाई जानकारी दिए ।


दीक्षान्त समारोहमा कुलपति देउवाले विभिन्न व्याचमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पदक वितरण गरेका थिए । सन् २०१२ देखि २०१४ सम्म भर्ना भएका विद्यार्थीहरुमध्ये सर्वोत्कृष्टलाई कुलपति पदक, उपकुलपति पदक र सुर्खेत उद्योग बाणिज्य संघ ( एससिसिआई) पदक प्रदान गरिएको थियो ।

 

स्नातकोत्तर तहमा व्याच टप गर्नेलाई कुलपति पदक, स्नातक तहमा व्याच टप गर्नेलाई उपकुलपति पदक र एमविए, विविए तर्फ व्याच टप गर्नेलाई एससिसिआई अवार्डले सम्मानित गरिएको हो ।


सन् २०१२ को व्याच टप गरी कुलपति पदक पाउनेमा मानविकी र सामाजिकशास्त्र संकाय अन्तर्गत अन्तर्राष्ट्रिय सहकार्य र विकास कार्यक्रमकी छात्रा उपासना आचार्य, सन् २०१३ मा एमवीएकी लीला बुरा राना तथा सन् २०१४ मा द्वन्द्व र शान्ति अध्ययनका मधुकुमार विश्वकर्मा रहेका छन् । स्नातक तर्फ सन् २०१२ को व्याच टप गरी उपकुलपति पदक पाउनेमा मानविकी र सामाजिकशास्त्र संकाय अन्तर्गत गणित विषयका सुमन प्रधान रहेका छन् ।

 

यसैगरी एससिसिआई अवार्ड प्राप्त गर्नेमा सन् २०१२ को एमविए टपर इर्साद अहमद, सन् २०१३ मा लीला बुरा राना तथा सन् २०१२ को विविए टपर सन्ध्या काफ्ले रहेका छन् ।


विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह तथा सातौं साधारण सभाको अध्यक्षता प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले गरेका थिए । समारोहलाई कुलपति देउवा, उपप्रधान तथा शिक्षामन्त्री एवं सहकुलपति गोपालमान श्रेष्ठ, उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले समारोहलाई सम्बोधन गरेका थिए । विभिन्न संकायका डीनले तोकिएको अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गर्न कुलपतिसमक्ष सिफारिस गरेका थिए ।


दीक्षान्त समारोहको सञ्चालन विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले गरेका थिए ।


२०६७ सालमा स्थापना भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा २०६९ सालदेखि अध्ययन अध्यापन शुरु गरिएको थियो ।

 

तस्बिर हेर्नुहोस् : 

con10

con15

con12

con13con11

 

con14

con16

con17

con4

con6

con8

con9

con7

२०७४ असार १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्