झलक पाली
२१ असार, डोटी । स्थानीय तहको निर्वाचनमा डोटीको दिपायल सिलगढी नगरपालीकामा नेकपा एमालेबाट विजयी मेयर मञ्जु मलासीले बुधबार पदभार सम्हालेकी छन् । नवनिर्वाचित मेयर मलासीले बिहान करिब पौने ११ बजेको समयमा पदभार सम्हालेकी हुन् ।
पदभार सम्हाल्दै मलासीले सबै मिलेर नगरपालीमा शुसासन प्रवर्धन सहित नगरको सर्वपक्षिय विकास सहित नमूना नगर बनाउने प्रतिबद्धता जनाउँदै नगरपालीकाका कर्मचारीहरुलाई निर्देशन समेत गरेकी थिईन् ।
को हुन् मञ्जु ?
वि.सं. २०२७ साल बैशाख २९ गते दिपायल सिलगढी नगरपालीकाकै साविकको वडा नं. ४ हालको वडा नं. ५ इन्द्रचोकमा बुबा खडकबहादुर अग्रवाल र आमा सरस्वती अग्रवालको कोखबाट जेठो छोरीका रुपमा सामान्य घरपरिवारमा मञ्जु मलासीको जन्म भएको हो ।
सामान्य औपचारिक शिक्षा हासिल गरेकी मलासीको वि.सं. २०४३ साल असारमा दिपायल सिलगढी नगरपालीका १ का कृष्ण मलासीसँग विवाह भयो ।
वि.सं. २०४६ को अनआन्दोलनपश्चात विजय जुलुसमा संलग्न भई राजनीतिक यात्रा शुरु गरेकी उनले २०४७ सालमा नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ दिपायल सिलगढीको वडा नं. १ को सचिव पदबाट जिम्मेवारी सम्हाल्न शुरु गरीन् ।
त्यसपश्चात २०५२ सालमा अनेम संघको डोटी जिल्ला सचिव बनेकी उनी एमाले डोटीको वैकल्पिक जिल्ला कमिटि सदस्य बनेकी थिइन् ।
विं. संं २०५४ सालमा भएको स्थानिय निकायको निर्वाचनमा एमालेले दिपायल सिलगढी नगरपालीकाको मेयर पदमा विजय हासिल गर्दा मञ्जुलाई उक्त नगरपालीकाको कार्यकारी बोर्ड सदस्यमा मनोनित गरिएको थियो । त्यसपछी वि.सं. २०५५ मा उनी अनेमसंघ डोटीको अध्यक्ष र एमाले जिल्ला कमिटि डोटीको सदस्य बनेकी थिईन् ।
वि.सं. २०६९ सालमा एमाले जिल्ला कमिटि डोटीको जिल्ला अधिवेशनमा पाएको उप–सचिवको जिम्मेवारी हालसम्म सम्हाल्दै आएकी छन् । मञ्जु मलासी वि.सं. २०६४ र वि.सं. २०७० को संविधान सभाको निर्वाचनमा एमाले डोटीबाट समानुपातिकतर्फको उम्मेदवार समेत बनेकी थिईन् ।
वि.सं.२०६५ सालमा एमालेको राष्ट्रिय प्रतिनिधी परिषद सदस्य समेत बनेकी थिईन् । उनले नेकपा एमालेबाट चीनको उच्च स्तरीय राजनीतिक अध्ययन भ्रमणसहित ८ देशको अध्ययन भ्रमण गरिसकेकी छन् ।
सामाजिक सेवा क्षेत्रमा समेत विभिन्न गैर सरकारी संस्थाहरुको अनुभव बटुलेकी मलासी सामुदायिक वन उपभोक्ता महासंघको बहालवाला केन्द्रिय कोषाध्यक्ष पनि हुन् । एक छोरा र एक छोरीकी आमा समेत रहेकी मञ्जुकी बुहारी र एक नातिनि पनि छन् ।
यस्तै दिपायल सिलगढी नगरपालीकाका नवनिर्वाचित उपमेयर शिवराज खड्काले पनि आजै पदभार सम्हालेका छन् । एमालेबाटै निर्वाचित खड्काले करिब सवा ११ बजे पदभार सम्हालेका हुन् । उपमेयर खड्का एमाले जिल्ला कमिटि डोटीका सदस्य पनि हुन् ।
प्रतिकृया दिनुहोस्