मदन खड्का
२१ असार, रोल्पा । विप्लव नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको बन्दको कारण रोल्पाको जनजीवन प्रभावित भएको छ । मतपेटिकामा एसिड हालेको आरोपमा आफ्ना कार्यकर्तालाई प्रहरीले हिरासतमा राखेको भन्दै नेकपाले मंगलबार र बुधबार रोल्पा जिल्ला बन्दको आव्हान गरेको थियो ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनका दिन मतपेटिकामा एसिड हालेको आरोपमा रोल्पा नगरपालिका वडा नम्बर १० निवासी बीरबहादुर वलीलाई प्रहरीले पक्राउ गरेको थियो । वलीलाई निर्वाचन कसुर अपराध अन्तर्गतको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले सेरोफेरोलाई जानकारी दिए ।
नेकपा रोल्पाका जिल्ला सेक्रेटरी दलबहादुर खत्रीले भने बिना प्रमाण आफ्नो पार्टीको कार्यकर्तालाई झुठा मुद्दा लगाइएकोले उक्त आरोप खारेज वलीलाई रिहाइ नगरेसम्म आन्दोलन जारी राख्ने बताए ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिले बुधबार एक विज्ञप्ति जारी गरी निर्वाचनताका पक्राउ परेका वलीलगायत अन्य कार्यकर्तालाई ससम्मान रिहा नगरिए असार २७ गते नेपाल बन्दको घोषणा गरेको छ ।
प्रतिकृया दिनुहोस्